अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारण सभा सम्पन्न

ललितपुरको सिद्धिपुरमा प्रधान कार्यालय र ठैंवमा सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को छैठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । बिगतका वर्षहरु भन्दा यस पटक अलि फरक ढंगबाट सम्पन्न सो साधारण सभा सोही संस्थाका अध्यक्ष किशोर महर्जनको अध्यक्षतामा सम्पन्न भयो । त्यसै संस्थाका ज्येष्ठ शेयर सदस्य जीतलाल महर्जनले दीप प्रज्वलन गरी उक्त साधारण सभाको उद्घाटन गर्नुभयो ।

साधारण सभामा त्यस संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो संस्थाका अध्यक्ष महर्जनले स-सानो रकमलाई संकलन गरी त्यसलाई आय तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुको बचत गर्ने बानीको विकास गर्दै उनीहरुको जीवनस्तर उठाई सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पु-याउने उद्देश्यले २०७२ सालमा स्थापना भएको हाम्रो यो संस्था शेयर सदस्य ज्यूहरुको सक्रिय सहयोग र कर्मचारीहरुको परिश्रम र मेहनतले निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको भन्दै त्यसका लागि सबैमा आभार व्यक्त गर्नुभयो । उहाँले ललितपुर जिल्लाभर कार्यक्षेत्र रही समुदायमा आधारित हाम्रो यस संस्थाले नियामक निकायहरुले समय-समयमा जारी गरेका निर्देशन , सल्लाह र सुझावलाई पालना गरी सहकारीको सिद्धान्त , नीति , मुल्य र मान्यतालाई आत्मसात गरी संस्थागत सुशासनलाई कायम गरी आफ्ना शेयर सदस्यहरुलाई सहज रुपमा गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताउनुभयो । बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका उपाध्यक्ष समेत रहेका त्यसै संस्थाका अध्यक्ष महर्जनले ‘सहकारी विरुद्ध चलिरहेका हल्लालाई बेवास्ता गरी हामीहरु हाम्रो यस अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को उद्देश्य अनुसारका कार्य गरिरहदा

यस बेलासम्म हाम्रो यो संस्थाको तरलता र वित्तीय अवस्था राम्रो छ’, भन्नुभयो । उहाँले राज्य र सहकारी अभियान मिलेर बहुउद्देश्यीय सहकारी संघ/ संस्थाहरुलाई आफ्नो उद्देश्य अनुरुपको कार्य गर्न अनुकूल वातावरण निर्माण गर्नु पर्ने खाँचो औंल्याउनुभयो । हाम्रो यो संस्थाले स्थानीय सरकार तथा विभिन्न सघ/संस्थाहरुसँग सहकार्य गरी शिक्षा , स्वास्थ्य , खेलकुद जस्ता सामाजिक सेवामूलक कार्यमा समेत योगदान गरिरहेको बताउदै उहाँले ‘यस संस्थाले आफ्ना महिला शेयर सदस्य सत्केरी भएमा सुत्केरीलाई भेटघाट गरी बधाई ज्ञापन गर्दै स्याहार खर्च स्वरुप रु.२ हजार उपलब्ध गराउनुका साथै यदी उनलाई अस्पताल भर्ना गर्नु परेमा ५ दिनको रु.१५०० अस्पतालको बेड शुल्क तिरीदिने गरेको र संस्थाका कुनै शेयर सदस्य मृत्यु भएमा समवेदना स्वरुप निजका परिवारलाई रु.१० हजार उपलब्ध गराउदै आएको छ’ भन्नुभयो । हाम्रो यस संस्थाले नेपाल क्यान्सर अस्पताल , हरिसिद्धिसँग सहकार्य गरेर आफ्ना शेयर सदस्यहरुको स्वास्थ्य परीक्षण र उपचारमा ३५ देखि ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था मिलाउन लागेकाे उहाँको भनाई छ ।

साधारण सभामा उक्त संस्थाका कोषाध्यक्ष सुदन महर्जनले संस्थाको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन तथा चालु आर्थिक वर्षको कार्यक्रम र बजेट प्रस्तुत गर्दै ‘हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई उद्यमशील कार्यमा लाग्न प्रेरित गर्ने उद्देश्यले उद्यमशील कार्यमा लागेका आफ्ना महिला शेयर सदस्यहरुलाई ३ महिनासम्म विना सेवा शुल्क एक पटक १० जनासम्मलाई सहुलियत व्याजदरमा रु.४० हजारसम्म उद्यमशील कर्जा प्रवाह गर्दै आएको र यो सुविधा यस संस्थाका ४० जना उद्यमशील महिला सदस्यले लिनु भएको बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गरी सामाजिक तथा आर्थिक क्षेत्र यस संस्थाले योगदान गरिरहेको बताउदै ‘आर्थिक वर्ष २०७८/०७९ को अन्तसम्ममा हाम्रो यस संस्थामा शेयर सदस्य १,५८६ जना , शेयर पूँजी रु.२,६६,९२,००० , बचत संकलन रु.२०,५०,२०,००० र कर्जा लगानी रु.२३,१८,४१,००० र मुनाफा रु.७७,१७,००० कूल मुनाफा आर्जन गर्न सफल भएको छ’, भन्नुभयो ।

उक्त संस्थाका सचिव महेन्द्रकुमार महर्जनले सञ्चालन गर्नु भएको त्यस साधारण सभामा सोही संस्थाका लेखा सुपरीवेक्षण समितिकी संयोजक कविता महर्जनले त्यस संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै यस संस्थाका सबै सूचकाङ्क राम्रो रहेकोले हल्लाको पछि नलागी ढुक्क भएर यस संस्थामा आफ्नो कारोवार गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ‌। शेयर सदस्यहरु बीच छलफल गरी ती प्रतिवेदनहरु साधारण सभाबाट पारित भएका थिए । ती प्रतिवेदनमा यस संस्थाले परदेशमा छोराछोरी रहेका जेष्ठ शेयर सदस्यहरुलाई एक्लोपन हटाउन बेला-बेलामा तीर्थाटन गराउनुका साथै संस्थाले रु.१ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था गरेको र गत आर्थिक वर्ष यो दुर्घटना वीमा सुविधा ६ जनाले उपयोग गरेकोले यो दुर्घटना बीमा योजनामा शेयर सदस्यहरुलाई सहभागी हुन त्यस संस्थाले आग्रह गरेको उल्लेख छ ।

त्यसै संस्थाकी कानुनी सल्लाहकार रमिता महर्जन , सोही संस्थाका सल्लाहकार तथा सहकारी प्रशिक्षक तेजप्रसाद बजगाईँ लगायतको सहभागिता रहेको सो साधारण सभामा सिद्धिपुर , ठैंव र हरिसिद्धिको कला, संस्कृति तथा बाजा खल:लाई संरक्षण र प्रवर्द्धन गर्ने नीति अनुरुप स्थानीय बाजा खल:लाई बाद्यवादनका सामाग्री प्रदान गर्नुका साथै सोही संस्थामा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरुलाई नगद सहित पुरस्कृत गरी सम्मानित गरिएको थियो ।

सो संस्थाले आफ्ना शेयर सदस्यहरुलाई मोवाइल बैंकिङ, ई-सेवा तथा विभिन्न कम्पनीसँग सहकार्य गरी रेमिट सेवा प्रवाह गरिरहेको छ ।

Leave a Reply