ख्वप साकोसका उपसमिति सदस्यहरुको सपथ ग्रहण र परिचयात्मक कार्यक्रम सम्पन्न


भक्तपुर नगरपालिका-२, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १६औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समितिबाट २०८० माघ १० गतेको निर्णयनुसार गठित सल्लाहकार समिति र विभिन्न उप-समितिका संयोजक तथा सदस्यहरुको सपथ ग्रहण एवं परिचयात्मक कार्यक्रम बासु मा.वि.को सभाहल ,कासन ब्यासी, भक्तपुरमा २०८० माघ १२ गते नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि उकेश कवांले ‘पूँजीवादी सत्तामा कम्युनिष्ट पार्टी जानु भनेको पूँजीपतिहरुसँग घुस खाएर कामदार वर्गलाई धोका दिनु हो’, भन्नुभयो । उहाँले समाजबादी ब्यवस्थामा मात्र कामगरी खाने वर्गको अबस्थामा आमूल परिवर्तन हुने भएकोले सहकारी संघ/ संस्थाहरुले पनि नेपाल मजदुर किसान पार्टीले अङ्गीकार गरेको मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा अनुसार नेपालमा समाजवादी ब्यवस्था ल्याउन समाजबादी प्रचार अभियानमा लाग्न अनुरोध गर्नुभयो । उहाँले नेमकिपाको ५०औ स्थापना दिवसबारे चर्चा गर्दै पार्टीको स्थापना नभएको भए नेपालमा समाजवादको प्रचार प्रसार गर्नेहरु खोज्नु पर्ने अवस्था आउने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले ख्वप साकोसका समिति र उपसमितिमा चयन भएकालाई बधाई दिंदै वार्षिक कार्य योजना बनाई विभिन्न कार्यक्रम मार्फत सदस्य बृद्धि र शेयर सदस्यहरुको ब्यवसाय प्रबर्द्धनमा सहयोग गर्न सकोस भनी शुभकामना दिंदै भक्तपुर नगरका सहकारीहरुको भक्तपुर नगरपालिकाले निरन्तर अनुगमन गरिरहेको जानकारी दिनु भयो
कार्यक्रममा नेमकिपा २ वडा ब्यासी ईकाई समितिका अध्यक्ष गणेशप्रसाद सुवालले ‘नेमकिपाको ५०औ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीले लिएका नीतिलाई सहयोग गराउन सहकारी संस्था र नेतृत्व वर्गले विभिन्न कार्यक्रम आयोजना गरी सहयोग गर्न सकिन्छ’, भन्नुभयो । उहाँले सहकारीका क्रियाकलाप तल्लो वर्गका जनताको चेतनास्तर र अर्थिकस्तर उकास्न सहयोगी हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गरेका ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले ‘यस संस्था अन्तरगतका विभिन्न उप-समितिहरुले बार्षिक कार्यक्रम बनाई सदस्यहरुको सांस्कृतिक र शैक्षिकस्तर उकास्न पहल गर्नुपर्छ’, भन्नुभयो । उहाँले यो संस्थाले शीपमूलक आयमूलक तालिमहरु आयोजना गरी सदस्यहरुलाई स्व-रोजगार बनाउन र ब्यवसाय प्रवर्द्धन गराउनुपर्छ भन्दै यस संस्थाका समिति र उपसमिति सदस्यहरुलाई संस्थाको विकास विस्तारमा प्रतिबद्धता जाहेर गराउन र जिम्मेवारी बोध गराउन सपथग्रहण तथा सदस्यहरुको परिचयात्मक कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले ‘नेपालको राजनीतिको प्रकाशस्तम्भ नेपाल मजदुर किसान पार्टीकोे ५०औं स्थापना दिवस २०३१ माघ १० गते हो भन्दै पार्टीको उद्देश्यनुसार कामदार वर्गको शिक्षा र स्वास्थ्यमा पहुँच बनाउन र जनतालाई बुद्धिजीवीकरण गर्ने कार्यमा पनि सहकारी संस्थाहरुले योगदान गर्नुपर्छ’, भन्नुभयो । उहाँले नव गठित शिक्षा उप-समिति, ऋण उप-समिति, महिला उप-समिति, कृषि उप-समिति, बचत उप-समिति, स्वास्थ्य उप-समिति, ऋण अनुगमन समिति र अतिरिक्त क्रियाकलाप उप-समितिका संयोजक र सदस्यहरुलाई संस्थाको निर्वाचन उप-समितिको विधाननुसार सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो’, भन्नुभयो ।
सपथ ग्रहण कार्यक्रममा विभिन्न समिति उपसमितिमा चयन भएका संयोजक र सदस्यहरुलाई संस्थाका सल्लाहकारहरु कुमार लघु, बिमल राजचल र सञ्चालक समिति सदस्य राजाराम सुवालले पनि बधाई ज्ञापन गर्दै वार्षिक कार्ययोजना बनाई सदस्यता बृद्धि र संस्थाको विकास विस्तारका लागि समिति र उप-समिति सदस्यहरु प्रतिबद्ध भएर लाग्नुपर्छ’, भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *