आफ्नो जन्मदिनको अवसरमा कवि तथा सहकारी अभियन्ता जगतलाल महर्जनले आफ्नो कवितासंग्रह सृष्टि र दृष्टि आज पाठक समक्ष ल्याउनुभएको छ । बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष महर्जनको सो कवितासंग्रह नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थ मन्त्री डा.प्रकाशशरण महत, पूर्व गृह राज्यमन्त्री एवं राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटा, नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद मदन अमात्य, नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्व मन्त्री रामकृष्ण चित्रकार , नेपाली कांग्रेसकी नेतृ उर्मिला के.सी. लगायतले सृष्टि र दृष्टि कवितासंग्रहको आज विहान ललितपुरको महालक्ष्मीस्थानस्थित डीलाइट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा संयुक्त रुपमा विमोचन गर्नुभयो । सुवर्णपुर साहित्य जागरण समाजले आयोजना गरेको उक्त कार्यक्रममा राजनीतिकर्मी, सहकारीकर्मीहरु लगायतका साहित्यप्रेमीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका अतिथिहरु तथा सहभागीहरुले सो कवितासंग्रहका रचनाकार तथा सहकारी अभियन्ता जगतलाल महर्जनलाई बधाइ सहित जन्मदिनको शुभकामना दिदै साहित्यिक क्षेत्रमा उहाँको थप प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा सष्ट्रा गोपाल आचार्यले सोही कवितासंग्रहको बारेमा समीक्षात्मक प्रस्तुती गर्नुभयो भने पूर्वगृह राज्यमन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका पूर्व अध्यक्ष बास्कोटाले सहकारी अभियन्ता जगतलाल महर्जनका कविता फेसकुकमा पढेपछि आफूले उहाँलाई कवितासंग्रह प्रकाशन गर्न सुुझाव दिएको दुई महिनामै यो कवितासंग्रह पाठक समक्ष आएको भन्दै खुशी व्यक्त गर्नुभयो । आफूले सधैभरी अर्गानिक कृषि गर्नुपर् भनिरहें तर त्यसलाई सरकारले नसुनेपछि आफ्नो राजीतिक यात्रा समेतलाई समेटेर निष्ठाको यात्रा नामक पुस्तक पाठक समक्ष ल्याएको बताउनुभयो । कार्यक्रममा सहकारी अभियन्ता तथा सृष्टि र दृष्टि कवितासंग्रहका रचनाकार महर्जनले सो कवितासंग्रहको बारेमा चर्चा गर्दै आफू र आफ्नो सृजनालाई माया गरेर कार्यक्रममा सहभागी सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।