नेपाली कांग्रेसका ५ वटा प्रदेश सभा दलको नेता चयन

निर्वाचन मार्फत संघीय संसदीय दलको नेता चयन गरेको नेपाली कांग्रेसले ५ वटा प्रदेश सभा दलको नेता चयन गरेको छ । तीमध्ये कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाही नेपाली कांग्रेस, कर्णाली प्रदेश सभा दलको नेता सर्वसम्मत चयन भएपनि १ नं. प्रदेश , मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेश सभा दलको नेता चयन निर्वाचन विधिबाट गरिएको छ ।

१ नं. प्रदेश सभा दलको नेतामा उद्धव थापा ,अमृत अर्याल र केदार कार्कीको उम्मेद्वारी परेपनि सोही पार्टीका १ नं. प्रदेश कार्य समितिका सभापति उद्धव थापा १८ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी रहेका केदार कार्कीले ९ र अमृत अर्यालले २ मत पाउनुभयो । १ नं. प्रदेशका मुख्यमन्त्रीका आकाङ्क्षी अर्याललाई प्रस्तावक या समर्थक मध्ये १ जनाको मत नै पाउन सक्नु भएन । उहाँ २०७० सालको संविधान सभा निर्वाचनमा मोरङ क्षेत्र नं.५ बाट विजयी हुनुभएको थियो ।

यसैगरी यही बिहीबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस मधेश प्रदेश सभा दलको नेतामा कृष्णप्रसाद यादव १८ मत प्राप्त गरी निर्वाचित हुनुभयो । नेपाली कांग्रेसको मधेश प्रदेश कार्य समितिका सभापति रहेका यादवसँग प्रतिस्पर्धा गरेका रामसरोज यादवले जम्मा ४ मत पाउनुभयो ।

त्यस्तै यही बुधबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेश सभा दलको नेतामा बहादुर सिंह लामाले २१ मत प्राप्त गरी विजय हुनुभयो । उहाँका प्रतिस्पर्धी इन्द्रबहादुर बानियाले १६ मत पाउनुभयो । विजयी लामा २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचनमा नुवाकोट क्षेत्र नं.३ बाट विजयी हुनुभ एको थियो भने बानिया यस अघि नेपाली कांग्रेस बागमती प्रदेश हभा दलको नेता हुनुहुन्थ्यो ।

यस्तैगरी बुधबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस गण्डकी प्रदेश सभा दलको नेतामा सुरेन्द्र पाण्डे १८ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत पाउनुभयो ।

यी ५ वटा प्रदेश सभा दलको नेतामध्ये १ नं. प्रदेश सभा दलका नेतामा नेता कृष्णप्रसाद सिटौला निकट उद्धव थापा बाहेक बाकी सबै प्रदेश सभा दलको नेतामा संस्थापन पक्षका उम्मेद्वार विजयी हुनुभयो ।

Leave a Reply