पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भयो उद्घाटन,निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पानसमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आफूले गरेको योगदानको चर्चा गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चीन सरकारले आफूले शुरु गरेका परियोजना निर्माण गरी नेपाली युवाहरुका लागि रोजगारी सिर्जना गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । सोही अवसरमा मन्तव्य व्यक्त गर्दै उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले ‘पोखरा विमानस्थलको पूरै उपयोग गरी अर्थोपार्जन गर्नुपर्छ’, भन्नुभयो । उहाँले मुलुकको राष्ट्रिय अर्थतन्त्र त्यति धेरै खराव नभएकोले अर्थतन्त्रलाई पहिले जस्तै लय फर्काउने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले चीन सरकारले पोखरा विमानस्थल निर्माणका लागि प्रदान गरेको ऋणलाई अनुदानमा बदल्न अनुरोध गर्नुभयो । यस्तै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नु पर्ने खाँचो औंल्याउनुभयो ।

५ वर्षको समय लगाएर निर्माण गरिएको सो विमानस्थल उद्घाटन समारोहमा पोखराबासीहरुको उपस्थिति रहेको थियो । त्यस अवसरमा हेलिकप्टरबाट पुष्पबृष्टि गरिएको थियो । यो विमानस्थलको उद्घाटन भएसँगै बिगत ५० बर्षदेखिको पोखराबासीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण होस् भन्ने चाहाना पूरा भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *