
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ ,बलम्बुमा केन्द्रीय कार्यालय र मकवानपुरको थाहा नगरपालिका-६, बज्रबाराहीमा रहेको समृद्ध सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको बलम्बु च्याउ सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभा यही पौष १५ गते शुक्रबार भव्यताका सम्पन्न भएको छ ।


सोही संस्थाका अध्यक्ष अमरदीप सिंह महर्जनको अध्यक्षतामा सम्पन्न सो साधारण सभाको प्रतिनिधि सभाका सदस्य कृष्णगोपाल श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।


सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै साधारण सभाका प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य श्रेष्ठले बलम्बु सहकारी संस्था लि.ले गरेको प्रगति र च्याउ खेतीको आधुनिक विकासका लागि यस संस्थाले पु-याएको योगदान प्रसंशनीय रहेको बताउनुभयो । सहकारीले आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्ने बताउदै उहाँले सहकारी संस्थाहरुले आफूलाई उत्पादनमुलक क्षेत्रमा केन्द्रित गर्नु पर्ने खाँचो औंल्याउनुभयो । चन्द्रागिरि नगरपालिकाकी उप-मेयर वशन्ती श्रेष्ठको आतिथ्यता रहेको सो साधारण सभामा बागमती प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेल, चन्द्रागिरि नगरपालिकाका वडा नं.१२ का वडाध्यक्ष न्हुछेबहादुर महर्जन, च्याउ विज्ञद्वय डा.महेशकुमार अधिकारी र डा.बुद्धिरत्न खड्गे र हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.का सचिव सम्पूर्ण महर्जनले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै त्यस संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।
साधारण सभाको अध्यक्षता ग्रहण गर्दै सोही संस्थाका अध्यक्ष अमरदीप सिंह महर्जनले

सहकारी मार्फत सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक स्तरमा परिवर्तन गरी उनीहरुको जीवनस्तरमा अभिबृद्धि गर्ने हेतुले च्याउ खेतीको आधुनिक विकास र च्याउ खेतीमा आत्मनिर्भर बनाउने जुन लक्ष्य र परिकल्पना लिई स्थापना भएको हाम्रो यो संस्था आफ्नो १४औं बार्षिक साधारण सभासम्म आउदा आफ्नो लक्ष्य प्राप्तिका लागि संघर्षरत छ र यो लक्ष्य प्राप्तिका लागि संस्थाका सम्पूर्ण शेयर सदस्यहरुले यस संस्थालाई अहिलेको अवस्थासम्म ल्याई पु-याउन अतुलनीय सहयोग गर्नु भएकोमा यो संस्थाको तर्फबाट सबैमा आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि सबैबाट नियमित सहयोगको अपेक्षा गर्दछौं’, भन्नुभयो । उहाँले सहकारीको सिद्धान्त , मुल्य र मान्यता तथा नियमनकारी निकायको निर्देशन , सल्लाह र सुझावलाई आत्मसाथ गरी समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यो संस्था शेयर सदस्यहरुको साथ र सहयोगले संकटको बेलामा पनि आफ्नो साख जोगाएर निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको बताउनुभयो । संस्थाको संस्थागत विकास गर्न विधि र प्रविधिमा जोड दिदै सदस्य सन्तुष्टिको कार्यक्रममा केन्द्रित रहेको हाम्रो यो संस्था अगाडि बढिरहेको सबैमा बिदितै छ भन्दै उहाँले यस संस्थाले को-ब्राण्डेड डेबिड भिसा कार्ड , मोबाइल बैंकिङ , एटीएम सेवा , क्युआर बैंकिङ र एस.एम.एस. बैंकिङ प्रविधि मार्फत सदस्यहरुलाई सरल र सहज वित्तीय सेवा प्रवाह गर्दै आएको विचार व्यक्त गर्नुभयो ।

साधारण सभामा त्यसै संस्थाका सचिव सुजिन्द्र महर्जनले संस्थाको प्रगति प्रतिवेदन , कोषाध्यक्ष प्रदीप महर्जनले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक पुष्कर महर्जनले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल भई ती प्रतिवेदनहरु साधारण सभाबाट सर्वसम्मत पारित गरियो ।



त्यसै संस्थाकी महिला उप-समितिकी सदस्य राजमाया महर्जनले स्वागत मन्तव्य व्यक्त गरेको उक्त साधारण सभामा काठमाडौं क्षेत्र नं.९ बाट नव निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेल , चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी , उप-प्रमुख बशन्ती श्रेष्ठ र सोही नगरपालिकाका वडा नं.१२ का वडाध्यक्ष न्हुछेबहादुर महर्जनलाई सम्मान गरियो । त्यसैगरी त्यस संस्थाका असल बचतकर्ता सदस्य काञ्छी श्रेष्ठ र रायन महर्जन ,असल ऋणी सदस्य कृष्णराज पाण्डे र रामकृष्ण कार्की ,असल शेयर सदस्य गंगा ढुंगेल थिङ , युवा च्याउ उद्यमी आकाश बाडे , नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुमा स्वर्ण पदक जित्न सफल खेलाडी सञ्जिव महर्जन तथा इस्लिङ्टन कलेजमा स्नातक तहमा बीएस.टी. कम्प्युटिङ विषयमा कलेज टप गरेका सो संस्थापक सदस्य रवि श्रेष्ठलाई सम्मान गरियो भने स्थानीय समुदायमा रहेका ८ वटा बाजा खल:लाई सम्मान सहित सहयोग प्रदान गरियो । सभामा उपस्थित सदस्यहरुलाई उक्त संस्थाबाट उत्पादित च्याउको अचार उपहार स्वरुप प्रदान गरिएको थियो ।

साधारण सभामा सो संस्थाले सञ्चालन गरिरहेको एटीएम सेवा अन्तर्गत रहेका एटीएम कार्ड २०० जना शेयर सदस्यलाई वितरण गरियो ।



च्याउको अध्ययन अनुसन्धानमूलक कार्य गर्दै आएको यस संस्थाले च्याउको अचार र च्याउको पाउडर जस्ता जिनिस उत्पादन गर्दै आएको छ । यो संस्थाले को-ब्राण्डेड भिजा डेबिड कार्ड सेवा दक्षिण एसियामा नै सहकारी क्षेत्रमा पहिलो भएको बताइएको छ । यसैगरी सो संस्थाले ई-टेलर सेवा प्रवाह पनि गरिरहेको छ । यो संस्थाको मोवाइल बैंकिङ सेवा उपयोग गरिरहेका सदस्यहरुले ई-टेलर सेवा मार्फत भौचर विना नै संस्थामा पैसा जम्मा गर्ने र चेक विना नै संस्थाबाट आफ्नो खाताको पैसा निकाल्ने गरेको त्यसै संस्थाका व्यवस्थापक ज्ञानदास महर्जनले अलगपथलाई बताउनुभयो । हाम्रो यस संस्थाले बाहिरबाट रेमिट मार्फत आफ्ना सदस्यको नाममा प्राप्त भएको रकम सम्बन्धित सदस्यको खातामा सिधै जम्मा हुने सिष्टमको निर्माण गरिरहेको उहाँको भनाई छ ।
समृद्ध बज्रबाराही सेवाकेन्द्रको ईकाई सभा सम्पन्न
यस्तैगरी बलम्बु च्याउ सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभाको समृद्ध बज्रबारही सेवाकेन्द्रको इकाई सभा यही पुस ९ गते मकवानपुरको थाहा नगरपालिका बडा नं ६ , बज्रबाराहीमा रहेको कार्यालय प्राङ्गडमा सम्पन्न भयो । सो सभा त्यसै संस्थाका अध्यक्ष अमरदीप सिंह महर्जनको आध्यक्षता तथा प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । बिभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको त्यस सभामा प्रमुख अतिथि बर्तौलाले सहकारीको आवश्यकता माथि जोड दिनु हुदै सहकारी संस्थाहरुले उत्पादन बृद्धि र रोजगारी सृजनामा रोजगारी सिर्जनामा सहयोग पुग्ने गरी कार्य गर्नु पर्ने खाँचो औंल्याउनुभयो । त्यस अवसरमा सोही संस्थाका अध्यक्ष सिंहले उक्त संस्थाको गतिविधि , वित्तीय अवस्था र भावी योजना बारे प्रकाश पार्नुभयो ।
त्यसै संस्थाकी समृद्ध बज्रबाराही सेवाकेन्द्र उप-समितिकी संयोजक कल्पना बलामीले स्वागत मन्तव्य र कर्माचारी कोपिला वाइवाले सञ्चालन गर्नु भएको त्यस सभामा मकवानपुर क्षेत्र नं २ बाट नव निर्वाचित प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलालाई कार्यकालको शुभकामना सहित बधाई तथा सम्मान गरिएको थियो । यसैगरी उक्त सभामा २०७८ सालको एस.ई.ई.मा उत्कृष्ट जीपीएका साथ उत्तीर्ण भएका श्री सुनौला माध्यमिक विद्यालय बज्रबाराहीका प्रमिला गोपाली र कृतिका लामिछाने तथा श्री बज्रबाराही माध्यमिक विद्यालय बज्रबाराहीका प्रवेश बिडारी र सविना घलानलाई पुरसकार सहित सम्मानित गरिएको थियो ।