भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,भक्तपुरको अर्ध-बार्षिक समीक्षा २०८० माघ १९ गते केभी लञ्ज, कमलविनायक, भक्तपुरमा सम्पन्न भयो ।
उक्त संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले
सो समीक्षा बैठकको अध्यक्षता गर्दै हाम्रो यस संघले बर्तमान अवस्थामा सदस्यको सम्बन्धलाई प्राथमिकता दिई सदस्य सक्षमता बृद्धि र सदस्य अनुगमनमा जोड दिएको बताउनुभयो । उहाँले यस संघको पाउनुपर्ने अग्रिम व्याजकर फिर्ताका लागि पहल गर्ने, स्थानीय तहसँग समन्वय र सहकार्यलाई बढाउनुपर्ने, यो संघको नियमित बचत र शेयर पूँजी बृद्धि गर्नुपर्ने लगायतको विषय प्रस्तुत गर्नुभयो ।
सोही अवसरमा त्यसै संघका उपाध्यक्ष हरि बल्लले यस संघबाट दिइने तालिम संस्थाको कार्यान्वयन तहमा नपुगेको संस्थाको अनुगमनमा देखिएकोले यो संघले तालिम दिएका सहभागीहरु सम्बन्धित संस्थामै कार्यरत भए/ नभएको समीक्षा गर्नुपर्ने बताउनुभयो । यसैगरी सोही संघका सचिव जगनाथ प्रजापतिले त्यस संघको कार्यक्रम प्रगतिबारेमा समीक्षा प्रस्तुत गर्दै कार्यक्रम प्रगतिका लागि उप-समितिहरुको बैठक बसी क्रियाशील हुनुपर्ने बताउनुभयो। त्यसै अवसरमा उक्त संघका कोषाध्यक्ष कान्छा भक्त घजुले २०८० पुष मसान्तसम्ममा प्राप्त वित्तीय प्रगतिको समिक्षा प्रस्तुत गर्नुभयो । उहाँले २०८० पुस मसान्तसम्ममा गत बर्षको वासलातको तुलनामा २२ प्रतिशत बृद्धि भई कुल वासलात रु.२ अर्ब ७२ करोड ५२ लाख ५१ हजार र रु. २ करोड ५ लाख नाफा आर्जन गर्न सकेको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
यस्तैगरी सोही संघका लेखा सुपरीवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्यायले त्यस संघको ऋण लगानीलाई बृद्धि गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले संस्थाले सफ्वेयर मार्फत लेखा व्यवस्थापन गर्ने वर्तमान परिप्रेक्षमा स्टेशनरी विक्रीको लक्ष्य र ई- बुलेटिनको जमाना भएकोले बुलेटिन प्रकाशनको लक्ष्य नै घटाउदै लैजानुपर्ने विचार व्यक्त गर्नुभयो ।
त्यस्तै सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले
यस संघको सदस्यता र ऋण लगानी बृद्धिको लागि प्रभावकारी पहल गर्नुपर्ने बताउनुभयो । उहाँले ९ प्रतिशत व्याजदमा नै संघले ५ बर्षको लागि मासिक किस्ताबन्दी ऋण लगानी गरिरहेकोले सदस्य संस्थाले मंहगो व्याजदरमा निक्षेप संकलन गर्न आवश्यक नरहेको बताउनुभयो । उहाँले वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा ऋण लगानीको क्षेत्र पहिचान गरी सुक्षित ऋण लगानीमा जोड दिनुपर्ने बताउनुभयो ।
सो समीक्षामा उक्त संघको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु र कर्मचारी गरी ४४ जनाको सहभागिता रहेको थियो । सो समीक्षामा प्रस्तुत प्रतिवेदन माथि छलफल गरी सुझावहरु समेत संकलन गरिएको थियो ।