भक्तपुर जिल्ला बचत संघको आयोजनामा बजार प्रतिनिधिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा २०८० माघ ७ गते होटल सिटी गाउँ, भातढिकुर, भक्तपुरमा एक दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । त्यस अवसरमा सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीको सात सिद्धान्तमध्ये पाँचौं सिद्धान्त तालिम, शिक्षा र सूचना अन्तर्गत यस संघले निरन्तर तालिम तथा शिक्षाको कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले सहकारी संस्था सदस्यमा बजार प्रतिनिधि मार्फत पुग्ने भएकोले बजार प्रतिनिधिले संस्थाको बारेमा सम्पूर्ण जानकारी राखी सदस्यको बचत सुरक्षाको सुनिश्चता गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले वर्तमान अवस्थामा सदस्यलाई सहकारीका बारेमा सुसूचित गर्न बजार प्रतिनिधिले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । यसैगरी
तालिमका प्रशिक्षक उपेन्द्र हुमागाईँले सहजीकरण गर्दै हालको अवस्थामा बजार प्रतिनिधिहरु स्वउत्प्रेरित भई सदस्यहरुलाई निरन्तर सेवा, सम्पर्क र सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले तालिमबाट सिकेको ज्ञान व्यवहारमा उतारे मात्र तालिम सार्थक रहने बताउनुभयोे ।
उक्त संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीले सदस्यसँग मात्र कारोबार गर्ने भएकोले बजार प्रतिनिधि भन्दा पनि सदस्य सहायक भन्नुपर्ने बताउनुभयो । उहाँले सदस्यको सेवामा खटिने बजार प्रतिनिधिले सदस्यलाई सही सूचना सम्प्रेशन गर्न सहकारीबारे निरन्तर ज्ञान हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सो तालिममा सहभागीहरुले छोटो अवधिको तालिममा पनि समुह कार्य, प्रवचन, रोल प्ले जस्ता शिक्षण विधिहरुबाट धेरै कुराहरु सिक्न पाएकोमा खुशी व्यक्त गर्दै तालिम प्रभावकारी भएकोले बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धिमा धेरै सहयोग पुग्ने बताउनुभयो ।

उक्त तालिममा त्यसै संघका सदस्य संस्थामा कार्यरत ३९ जना बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सोही संघका कर्मचारी रोकेश जोशीले सञ्चालन गर्नुभएक‍ो तालिम समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षकहरुलाई त्यसै संघका अध्यक्ष लाखाजुले प्रमाण-पत्र प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *