यल अन्तर सहकारी समन्वय समितिको ७औँ वार्षिक साधारण सभा सम्पन्न , अध्यक्षमा रामसुन्दर चयन

यल अन्तर सहकारी समन्वय समितिको ७औँ वार्षिक साधारण सभा २०८१ श्रावण ३२ गते शुक्रबार ललितपुरको ग्वार्कोस्थित सनराइज क्याफेमा सोही समितिका अध्यक्ष अष्टलाल महर्जनको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईँको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रमुख अतिथि बजगाईँले दीप प्रज्वलन गरि सो साधारण सभाको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले यल अन्तर सहकारी समन्वय समितिले तरलता व्यवस्थापन, नेतृत्व विकास जस्ता कार्य गरेको भन्दै प्रसन्नता व्यक्त गरी सो समितिको थप प्रगतिको कामना गर्नुभयो । उहाँले यतिबेला सहकारीका सञ्चालकहरु चोर हुन् भन्ने भाष्य जब्बरजस्ती निर्मार्ण गर्ने कोसिस भइरहेको बेला यल अन्तर समन्वय समितिको गतिविधि र यसमा आवद्ध सबै सहकारी संस्थाहरुको वित्तीय अवस्था राम्रो रहेको थाहा पाउदा खुसी लागेको बताउनुभयो ।

साधारण सभामा यल अन्तर समन्वय समितिका संस्थापक अध्यक्ष तथा नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि.का लेखा सुपरीवेक्षण समितिका संयोजक एवं माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.का अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले यल अन्तर सहकारी समन्वय समितिको ७औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन उत्कृष्ट प्रतिवेदन भएको बताउनुभयो ।

साधारण सभामा त:ननी साकोसका अध्यक्ष समेत रहेका यल अन्तर सहकारी समन्वय समितिका अध्यक्ष अष्टलाल महर्जनले स‍ो समितिको आर्थिक वर्ष २०८०/०८१ को गतिविधि सहितको वार्षिक प्रगति विवरण एवं आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले आ.व.२०८०/०८१ मा यश समितिको शेयर पूँजी रु.१,५४,००,०००, ऋण लगानी रु.१,४१,९७,७९७, जगेडा कोषमा १० प्रतिशतबाट वृद्धि गरि १५ प्रतिशत कायम गर्ने निर्णय भए अनुसार नाफा रु.१६,२१,३६३/३१ बाट छुट्याएको रु.२,४३,२०४/५० सहित रु.८,६०,९७५/५० , लाभांश वितरण गर्न योग्य रकम जम्मा रु.१३,७८,१५८/८१, कुल आम्दानी रु.१८,२२,३९८/३१, कुल खर्च रु.२,०१,०३० र तरलता २० प्रतिशत रहेको बताउनुभयो ।

त्यस अवसरमा सुमंगल साकोसकी व्यवस्थापक समेत रहेकी यल अन्तर सहकारी महिला सञ्जालकी संयोजक शान्ति महर्जनले उक्त सञ्जालको प्रतिवेदन र माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.का व्यवस्थापक समेत रहेका यल अन्तर सहकारी म्यानेजर क्लवका संय‍ोजक सुनिल महर्जनले सो क्लबको आर्थिक वर्ष २०८०/०८१ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सेटलमेण्ट साकोसका पूर्व अध्यक्ष तथा यल अन्तर सहकारी समन्वय समितिका निबर्तमान अध्यक्ष प्रणव श्रेष्ठले स्वागत मन्तव्य र त:ननी साकोसका प्रबन्ध निर्देशक समेत रहेका यल अन्तर सहकारी समन्वय समितिका सचिव विनोद महर्जनले सञ्चालन गरेको त्यस साधारण सभामा यल अन्तर सहकारी महिला सञ्जालकी संयोजक शान्ति महर्जन र यल अन्तर सहकारी म्यानेजर क्लवका संयोजक सुनिल महर्जनलाई सम्मान गरियो भने साधारण सभाका अध्यक्ष अष्टलाल महर्जनले प्रमुख अतिथि रामहरि बजगाईँलाई मायाको चिनो प्रदान गर्नुभयो ।

साधारण सभा सञ्चालन गर्दै त्यसै समितिका सचिव विनोद महर्जनले यल अन्तर सहकारी समन्वय समितिमा आवद्ध १४ वटै सहकारी संस्थामा ६७ जना कर्मचारी , रु.१३,३२,५६,३००/०० शेयर पूँजी, रु.१,१२,०४,५९,१८५/२१, ऋण लगानी रु.१,१३,१९,५७,३४८ /२० ऋण लगानी रु. १,५५,३०,३२,७६५/३० कूल कारोबार रहेको जानकारी दिनुभयो ।

साधारण सभा उत्सर्ग साकोसका अध्यक्ष रामसुन्दर श्रेष्ठलाई अध्यक्षमा र मनिंडो साकोसका अध्यक्ष नारायण तण्डुकारलाई उपाध्यक्षमा चयन गरि सम्पन्न भयो । सो साधारण सभाले यल अन्तर सहकारी महिला सञ्जालको संयोजकमा सेटलमेण्ट साकोसकी ललिता श्रेष्ठ र सह-संयोजकमा सर्वेश्वर साकोसकी अर्चना तण्डुकारलाई चयन गरेको छ भने यल अन्तर सहकारी म्यानेजर क्लवको संयोजकमा कुम्भेश्वर महिला साकोसका व्यवस्थापक विश्व खड्गी र सह-संयोजकमा त:ननी साकोसका प्रबन्ध निर्देशक विनोद महर्जनलाई चयन ग-यो ।

साधारण सभामा उक्त समितिका पूर्व अध्यक्ष , सो समितिमा आवद्ध सबै संस्थाहरुका अध्यक्ष सहित सञ्चालक समिति र लेखा सुुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु एवं कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । हरेक वर्षको श्रावणमा वार्षिक साधारण सभा मार्फत यल अन्तर सहकारी समन्वय समितिको नेतृत्व परिवर्तन हुने गरेको छ ।

साधारण सभामा न:ननी साकोसका सचिव तथा नेवा: आइडलका प्रतिस्पर्धी रत्नमान महर्जनले नेपाल भाषामा गीत गाउनुभएको थियो ।

ललितपुर महानगरपालिका भित्र सञ्चालनमा रहेका १४ वटा सहकारी संस्था यो समितिमा आवद्घ छन् ।

Leave a Reply