ललितपुर महानगरपालिका-१६, बुबाहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ मा गरेको कारोवारबाट आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई ८.५८ प्रतिशत लाभांश वितरण गरेको सोही संस्थाका सचिव सुनिल रत्न बज्राचार्यले बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले आर्थिक वर्ष २०७८/०७९ मा स्थानीय समुदायमा आधारित हाम्रो यस संस्थाले रु.१५,१६,४६२/३२ खुद बचत गरेको बताउनुभयो । ‘हाम्रो यो संस्थाको कारोवार तथा तरलताको अवस्था राम्रो छ’, उहाँको भनाई छ ।
यही कार्तिक ५ गते शनिबार ललितपुरको बुबाहालस्थित यशोधर महाविहार परिसरमा सो संस्थाको १५औं वार्षिक साधारण सभा राजमान बज्राचार्यको अध्यक्षता सोही संस्थाको नयाँ सञ्चालक समिति निर्विरोध चयन गर्दै सम्पन्न भएको थियो । उक्त सञ्चालक समितिको उपाध्यक्षमा मनोज बज्राचार्य, सचिवमा सुनिल रत्न बज्राचार्य , कोषाध्यक्षमा ज्ञानेन्द्र बज्राचार्य , सह-सचिवमा यज्ञमान बज्राचार्य र सह-कोषाध्यक्षमा प्रविन बहादुर बज्राचार्य तथा सदस्यमा गगन वीर बज्राचार्य , शोभा बज्राचार्य र आशामाया बज्राचार्य हुनुहुन्छ । यसैगरी त्यस संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा अमिता बज्राचार्य तथा सदस्यमा रोजन बज्राचार्य र दिपश बज्राचार्य सर्वसम्मत चयन हुनुभएको थियो ।
ललितपुर महानगरपालिकाकी उप-प्रमुख मञ्जली शाक्यले उक्त साधारण सभाको उद्घाटन गर्नुभएको थियो । सोही संस्थाका अध्यक्ष बाबुराज बज्राचार्यको अध्यक्षतामा सम्पन्न त्यस सभामा उद्घाटन मन्तव्य व्यक्त गर्दै ललितपुर महानगरपालिकाकी उप-प्रमुख शाक्यले समुदायमा आधारित सहकारी संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने बताउनुभयो । सहकारीलाई मर्यादित र व्यवस्थित बनाउदै यसकै विकास र प्रवर्द्धनका लागि ललितपुर महानगरपालिकाको योजना र कार्यको बारेमा चर्चा गर्दै उहाँले बैंकमा तरलताको समस्या उत्पन्न भइरहेको बेला यशोधर साकोसले गरिरहेको प्रगति र यसका सूचकाङ्क राम्रो रहेको भन्दै प्रशन्नता व्यक्त गर्नुभएको थियो । साधारण सभामा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईँले शुभकामना मन्तव्य व्यक्त गर्दै समुदायमा आधारित यशोधर साकोसका सबै सूचकाङ्क राम्रो रहेकोले यस संस्थामा ढुक्क भएर आफ्ना सबै कारोवार गर्न आग्रह गर्नुभयो । उहाँले सहकारी सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी सञ्चालन भएका समुदायमा आधारित सहकारी संस्थाहरुको कारोवार र तरलताको अवस्था राम्रो रहेकोले हल्लाको पछि नलागी सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्नु पर्ने खाँचो औंल्याउनुभयो । त्यस्तैगरी साधारण सभामा जिल्ला सहकारी संघ लि., ललितपुरका सचिव तथा सहकारी प्रशिक्षक अनिल वीर बज्राचार्यले समुदायमा आधारित सहकारी संस्थाहरुको आवश्यकता माथि जोड दिदै शेयर सदस्यहरुले कारोवारका लागि धेरै व्याज दिने सहकारी संस्था नभई राम्रोसँग सञ्चालन भएका सहकारी संस्था छनौट गर्नु पर्ने बताउनुभयो । उहाँले राम्रोसँग सञ्चालन भइरहेको यशोधर साकोसको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।
त्यस साधारण सभाको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष बज्राचार्यले स-सानो पूँजीलाई संकलन गरी त्यसलाई परिचालन गरी आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन र उनीहरुलाई बचत गर्ने बानीको विकास गर्ने उद्देश्यले स्थापना भएको हाम्रो यो संस्था शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र लगनशीलताका कारण निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको भन्दै त्यसका लागि सबैमा आभार व्यक्त गर्नु भएको थियो ।
अन्तर सहकारी सुरक्षण कोषमा आवद्ध सहकारी संस्थाहरुका अध्यक्ष/प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको सो साधारण सभामा त्यसै संस्थाका सचिव सुनिल रत्न बज्राचार्यले संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष ज्ञानेन्द्र शाक्यले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक नवीन राज बज्राचार्यले त्यसै संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
ती प्रतिवेदनहरु माथि शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाले पारित गरेको थियो ।
सो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।