अप्रिल २२ र सेप्टेम्वर १५ नेकपा स्थापनाका ऐतिहासिक दिन हुन् : अध्यक्ष कट्टेल

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अप्रिल २२ र सेप्टेम्बर १५ तारेख नेपाल कम्युनिष्ट पार्टी स्थापनाको महत्वपूर्ण ऐतिहासिक दिन भएको बताउनु भएको छ । विश्व कम्युनिष्ट आन्दोलनका महान नेता तथा बिघटित सोभियत संघका सुत्रधार भी.आई. लेनिनको १५२औं जन्मजयन्तीको अवसरमा महान नेता लेनिनप्रति श्रद्धाञ्जली अर्पर्ण गर्दै उहाँले विश्व कम्युनिष्ट आन्दोलन र समाजवादी राज्य व्यवस्था निर्माण लगायतमा लेनिनले पु-याएको योगदान अहिले पनि विश्व कम्युनिष्ट आन्दोलन र साम्राज्यवाद बिरुद्ध उत्पीडित राष्ट्रहरुको राष्ट्रिय स्वाधिनताको निम्ति गरिरहेको संघर्षको निम्ति पनि उत्तिकै महत्वपूर्ण रहेको बताउदै आजको दिनले संसारका श्रमजीवी जनतालाई मजदुर र किसान वर्गको आफ्नो राज्यसत्ता निर्माणको दिशामा अगाडि बढ्न प्रेरणा प्रदान गर्न सकोस भनी शुभ-कामना व्यक्त गर्नुभयो । अलगपथसँगको कुरा गर्दै अध्यक्ष कट्टेलले कमरेड पुष्पलालको नेतृत्वमा सन् १९४९ अप्रिल २२ तारेकका दिनबाट नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने अभियान शुरु भई सन् १९४९ सेप्टेम्बर १५ का दिन नेपाल कम्युनिष्ट पार्टी स्थापन भएको घोषणा भएको दिन भएकोले नेपाल कम्युनिष्ट पार्टीले अप्रिल २२ र सेप्टेम्बर १५ तारेकलाई नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ऐतिहासिक दिनको रुपमा स्मरण गर्दै आएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको निधनपछि मात्रै नेपालका एकाथरी कम्युनिष्ट पार्टीहरुले अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउन थालेको प्रसङ्ग उल्लेख गर्दै उहाँले ‘एकाथरी कम्युनिष्ट पार्टीले सेप्टेम्बर १५ तारेकलाई बिर्सेर अप्रिल २२ लाई र अर्काथरीले अप्रिल २२ लाई बिर्सेर सेप्टेम्बर १५ तारेकलाई नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको रुपमा मनाउने गरेका दुबै प्रवृत्ति ठीक होइनन्’, भन्नुभयो ।

आज नेकपा (एमाले), नेकपा (माले), नेकपा (माके), नेकपा (मसाल), नेकपा (एस लगायतले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *