अन्तत: नेकपा (एमाले)का नेता हिक्मत कार्की १ नं. प्रदेशको मुख्यमन्त्री बन्नुभएको छ । नेकपा (एमाले), नेकपा (माके), राप्रपा र जसपाका ६० प्रदेश सभा सदस्यको समर्थनमा जुटाएर नेकपा (एमाले)का १ नं. प्रदेश सभा दलका नेता कार्कीले मुख्यमन्त्रीमा दावी पेश गरेपछि उहाँलाई १ नं. प्रदेश प्रमुख पर्शुराम खापुङले १ नं. प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुभएको जनाइएको छ । उहाँ १ नं. प्रदेशको चौथो मुख्यमन्त्री बन्नुभएको छ । उहाँभन्दा अगाडि नेकपा (एमाले)का नेता शेरधन राई र भीमप्रसाद आचार्य र नेकपा (एस)का नेता राजेन्द्रकुमार राई मुख्यमन्त्री बन्नुभएको थियो । सो प्रदेशको पाँचौं मुख्यमन्त्रीमा भने नेकपा (माके)का इन्द्रबहादुर आङ्बोले अहिलेबाटै दाबी गर्नुभएको छ ।
झापाको गौरादहका नव नियुक्त मुख्यमन्त्री कार्की झापा क्षेत्र नं.५(क) बाट नेकपा (एमाले)को तर्फबाट दोश्रो पटक १ नं. प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको हो । उहाँ यस अघि १ नं. प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राई नेतृत्वको १ नं. प्रदेश सरकारको मन्त्री परिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्थ्यो ।
लामो समय विद्यार्थी आन्दोलनमा सक्रिय बन्नुभएका नवनियुक्त मुख्यमन्त्री कार्की नेकप (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुदै नेकपा (एमाले)को केन्द्रीय तहमा पुग्नुभएको थियो । २०५३ देखि २०५५ सालसम्म उहाँ काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति पनि बन्नुभएको थियो ।