काठमाडौं / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा यही बैशाख १२ र १२ गते देशभर पालिकाहरुका बिभिन्न पदमा ८२,२१० जनाले उम्मेद्वारी मनोनयन भएको र ती उम्मेद्वार उपर आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
देशभरका ६ वटै महानगरपालिकामा सत्ता गठबन्धनले मिलेर उम्मेद्वारी दिएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ४ वटा महानगरपालिकामा एकल तथा भरतपुरमा राप्रपासँग र भिरगषञ्जमा लोसपासँग गठबन्धन गरेर उम्मेद्वारी मनोनयन गरेको छ । ६ वटै महानगरपालिकाका विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारको मनोनयन भएपनि मुख्य प्रतिस्पर्धा भने सत्ता गठबन्धन र एमाले गठबन्धन बीच हुने जानकारहरुको भनाई छ । ६ वटा महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंह र उप-मेमरमा नेकपा (एस)का रावेश्वर श्रेष्ठले उम्मेद्वारी मनोनयन गर्नु भएको छ भने नेकपा (एमाले)को तर्फबाट मेयरमा केशव स्थापित र उप-मेयरमा सुनिता डंगोलको उम्मेद्वारी मनोनयन भएको छ । नेकपा (एमाले)का मेयरका उम्मेद्वार स्थापित काठमाडौंका पूर्व मेयर तथा बागमती प्रदेश सभाका नि:बर्तमान सदस्य हुनुहुन्छ भने सत्ता गठबन्धनकी मेयरकी उम्मेद्वार सिंह नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको परिवारकी सदस्य हुनुहुन्छ ।
त्यसैगरी ललितपुर महानगरपालिकाको मेयर र उप-मेयरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उप-मेयरमा नेकपा (माके)का बाबुराजा बज्राचार्यको उम्मेद्वारी मनोनयन भएको छ भने नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकार र उप-मेयरमा मञ्जली शाक्य बज्राचार्यको उम्मेद्वारी मनोनयन भएको छ । मेयर का उम्मेद्वारद्वय महर्जन र व्यञ्जनकार २०७४ सालको निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरको प्रतिस्पर्धी हुनुहुन्थ्यो तर महर्जनले मेयरमा बाजी मार्नु भएको थियो । यस पटक भने व्यञ्जनकार सो हारको बदला लिने गरी चुनावमा खडा हुनु भएको छ भने महर्जन पुन: मेयरमा विजयी हुने योजनाका साथ चुनावमा खडा भएको देखिएको छ ।
त्यस्तै भरतपुर महानगरपालिकाको सत्ता गठबन्धनको तर्फबाट मेयरमा नेकपा (माके)की रेणु दाहाल र उप-मेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको उम्मेद्वारी मनोनयन भएको छ भने नेकपा (एमाले)-राप्रपा गठबन्धनको तर्फबाट मेयरमा विजय सुवेदी र उप-मेयरमा राप्रपाका हिमलाल गुरुङले उम्मेद्वारी दिनुभएको छ । मेयरमा गठबन्धनकी उम्मेद्वार दाहाल पुन: मेयरमा बाजी मार्ने गरी लागिरहनु भएको छ भने बागमती प्रदेश सभाका नि:बर्तमान सदस्य सुबेदी पनि विजयी हुने गरी चुनावमा खडा भएको बताइएको छ ।
यस्तैगरी पोखरा महानगरपालिकाको सत्ता गठबन्धनका तर्फबाट मेयरमा नेकपा (एस)का धनराज आचार्य र उप-मेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटको उम्मेद्वारी मनोनयन भएको छ भने सोही महानगरपालिकाको मेयरमा नेकपा (एमाले)का कृष्ण थापा र उप-मेयर मञ्जु गुरुङको उम्मेद्वारी मनोनयन भएको छ । गण्डकी प्रदेश सभाका नि:बर्तमान सदस्य तथा पोखरा महानगरपालिकाका पूर्व मेयर थापा र नि:र्बर्तमान उप-मेयर गुरुङ दुबै जना पुन: विजय हुने गरी चुनावी अभियानमा होमिनु भएको छ भने विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा लाग्नु भएका आचार्य र रानाभाट दुबै जना विजय हुने गरी चुनावी अभियानमाज्ञहोमिनु भएको छ ।
त्यस्तै विराटनगर महानगरपालिकाको सत्ता गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उप-मेयरमा जसपाका अमरेन्द्र यादबको उम्मेद्वारी मनोनयन भएको छ । सोही महानगरपालिकाको नेकपा (एमाले) ले मेयरमा सागर थापा र उप-मेयरमा शिल्पा निरौला कार्कीको उम्मेद्वारी मनोनयन भएको छ । मेयरका उम्मेद्वार कोइराला कोइराला परिवारका सदस्य हुनुहुन्छ भने महेन्द्र मोरङ आदर्श क्याम्पसका स्ववियूका पूर्व सभापति थापा विद्यार्थी राजनीति हुदै पार्टी राजनीतिमा प्रवेश गर्नु भएको थियो । दुबै जना विजय हुने गरी चुनावी मैदानमा खडा हुनु भएको छ ।
यस्तैगरी बिरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट मेयरमा जसपाका राजेशमान सिंह र उप-मेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमको उम्मेद्वारी मनोनयन भएको छ भने नेकपा (एमाले)-लोसपा गठबन्धनको तर्फबाट मेयरमा विजय सराबगी र उप-मेयरमा लोसपाका पुरुषोत्तम झाको उम्मेद्वारी मनोनयन भएको छ । चुनावको मुखमा नयाँ पार्टी प्रवेश गरेका सिंह र सराबगी दुबै जना २०७४ सालको निर्वाचनमा सिंह तत्कालीन राजाबाट र सराबगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयर उम्मेद्वार बन्नुभएको थियो तर बाजी बराबरीले मार्नु भएको थियो । सिंह उक्त हारको बदला लिने गरी चुनावी मैदानमा खडा हुनु भ एको छ भने नि:वर्तमान मेयर सराबगी पुन: विजयी हुने गरी चुनावीक्षमैदानमा खडा हुनुभएको छ ।
…… ………………………………………………………………
नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।