प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रतिनिधि सभाका २७५ मध्ये २६८ सांसदको समर्थन सहित प्रतिनिधि सभाबाट विश्वासको मत पाएपनि बुधबारसम्म मन्त्रीपरिषद बिस्तार गर्न सक्नुभएन , जसका कारण प्रचण्ड नेतृत्वको ८ सदस्यीय मन्त्रीपरिषदमा रहेका ४ विना विभागीय मन्त्री राजेन्द्र राई , ज्वालाकुमारी साह , दामोदर भण्डारी र अब्दुल खानले मन्त्रालय जिम्मेवारी पाउनुभएको छैन । प्रधानमन्त्री प्रचण्डले आफूले प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि मन्त्रीपरिषदलाई पूर्णता दिने बताउदै आउनुभएको थियो ।
प्रतिनिधि सभामा विपक्षी बेञ्चमा दुई दलका सांसद
प्रतिनिधि सभामा रहेका दलहरुमध्ये नेमकिपाका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर के.सी.ले मात्रै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु भएन । सोही कारण उहाँहरु दुई सांसद मात्रै विपक्षी बेञ्चमा रहन कानुनी र नैतिक रुपमा उपर्युक्त रहने राजनीतिक तथा क्षेत्रका जानकार बताउछन् । प्रतिनिधि सभामा सरकारलाई विश्वासको मत दिएपनि नेपाली कांग्रेस , नेकपा (एस), लोसपा र नेउपाका नेताहरुले प्रतिनिधि सभाको विपक्षी बेञ्चमा बस्ने बताएपछि यो विषयको पक्ष र विपक्षमा विभिन्न क्षेत्रका व्यक्तिहरुको प्रतिक्रिया बाहिर आएको छ ।