काठमाडौं/ आज १३३औं मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो । मजदुर दिवसको उपलक्ष्यमा बिगतका वर्षहरुमा झैं यस वर्ष पनि आज सरकारले सार्वजनिक बिदा थियो । यो दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी , उप-राष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , सभामुख अग्निप्रसाद सापकोटा , राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली, नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल , जसपाका अध्यक्ष उपेन्द्र यादब, लोसपाका अध्यक्ष महन्त ठाकुर, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ , नेकपा (क्रामा)का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ , नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंह , नेकपा (माले)का महासचिव सीपी मैनाली , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव विश्वभक्त दुलाल ‘आहुती’, नेकपा (मास)का अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशिल’ , नेकपा (मसाल केन्द्रीय तदर्थ समिति)का संयोजक सन्तबहादुर नेपाली लगायतले शुभकामना व्यक्त गर्नुभयो ।
८ घण्टा काम ,८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखेर अमेरिकाको सिकागो शहरका मजदुरहरुले गरेको आन्दोलनबाट ८ घण्टा कामको समय निर्धारण भएको सम्झनामा मनाउन थालिएको यो दिवस आज मजदुर संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाए ।
मजदुर दिवस मनाइरहदा कृषि मजदुर, भरिया , गिटी कुटेर जीविकोपार्जन गर्नु पर्ने मजदुरहरुलाई भने यो दिवसको बारेमा चासो भएको देखिएन । विशेषगरी निजी क्षेत्रमा मानसिक र शारीरिक श्रम गरेर जीविकोपार्जन गर्नु पर्ने श्रमिकहरुको जीवन अत्यन्त कष्टकर छ । सम्बन्धित रोजगारदाताले उनीहरुलाई प्रदान गर्ने कामको तलव/ज्याला अत्यन्त न्युन हुदा जीविकोपार्जन गर्न कठिन भएको देखिएको छ तर जिफण्ट , नेपाल ट्रेड यूनियन कांग्रेस लगायतका शक्तिशाली श्रमिक संगठनले यसबारेमा खासै चासो दिएको देखिदैन । यी संगठनहरुले श्रमिकहरुलाई हक , हित र अधिकार दिलाउन संघर्ष गर्ने कुरा गर्ने तर काम भने नगर्ने प्रबृत्तिले आफूहरुले दु:ख पाएको कतिपय श्रमिकहरुको भनाई छ । सरकारले निर्धारण गरेको श्रमिकको न्युनतम तलव/ज्याला बजारभाउको तुलनामा अति न्युन हुदा श्रमिकहरुलाई जीविकोपार्जन गर्न कठिनाई भएको सरोकारवालाहरुको भनाई छ ।
४४ लाख भन्दा बढी अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा कार्यरत श्रमिकहरु सामाजिक सुरक्षाबाट टाढा रहेको कतिपय जानकारहरु बताउछन् ।