काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरका ६ वटै महानगरपालिकाहरुमा साझा उम्मेद्वार बनाउने विषयमा सत्तारुढ ५ दलीय गठबन्धनमा सैद्धान्तिक सहमती भएको जानकारी प्राप्त भएको छ । सो गठबन्धनको केहीबेर अगाडि बसेको बैठकले काठमाडौं ललितपुर र विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस, भरतपुर महानगरपालिकामा नेकपा (माके), पोखरा महानगरपालिकाका नेकपा (एस) र बिरगञ्ज महानगरपालिकाको साझा मेयर जसपाको उम्मेद्वार बनाउने गरी भागबण्डा गर्ने सहमती भएको बताइएको छ । महानगरपालिकाको उम्मेद्वारको टुङ्गो लागेसँगै उक्त गठबन्धनमा देशभरका ११ वटा उप-महानगरपालिकामा साझा उम्मेद्वार बनाउने विषयमा छलफल शुरु भएको जनाइएको छ । त्यस गठबन्धनको सो बैठक राती १० बजे पुन: बस्ने गरी स्थगित भएको बताइएको छ ।
पालिकाको उम्मेद्वारीको विषयलाई लिएर दलहरु भित्र नेता- कार्यकर्ताहरुमा असन्तुष्टि पैदा भएको देखिएको छ । नेताहरुले उक्त असन्तुष्टिलाई समाधान गर्न कोशिस गरिरहेका छन् ।
यसै विषयलाई लिएर नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिनु भएको छ । नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँहरु बीच आरोप प्रत्यारोप चलेको थियो । चितवन र पोखरा महानगरपालिकाको मेयरको विषयलाई लिएर विशेष गरी नेपाली कांग्रेस भित्र व्यापक असन्तुष्ट देखिएको छ ।
…………………………………………………………………….
नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।