संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको विधान समितिमा नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नागरिकता पहिलो संशोधन विधेयक ,२०७९ माथि आज छलफल हुने बताइएको छ । सो समितिका जेष्ठ सदस्य नारायणदत्त मिश्रले सोहई प्रयोजनका लागि आज दिउसो १२:०० बजे विधायन समितिको बैठक डाकेको जनाइएको छ ।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त विधेयक थप थप छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको थियो । त्यसै बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त भएका पत्र र सचिव राजेन्द्रप्रसाद फुयालले नागरिकता विधेयकको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएका सवाल समेटिएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु भएको थियो ।
यही भदौ १६ गतेभित्रमा नागरिकता पहिलो संशोधन विधेयक,२०७९ माथि आवश्यक छलफल गरी त्यसको प्रतिवेदन राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई बुझाउने गरी कार्य गर्ने विधायन समितिका जेष्ठ सदस्य मिश्रले सञ्चारकर्मीलाई बताउनु भएको छ ।
प्रतिनिधि सभाबाट पुन: पारित भई सन्देश सहित यो विधेयक राष्ट्रिय सभामा पुगेको हो ।