देशभरका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको अगुवाई सहकारी अभियानले सहकारी क्षेत्रमा देखिएका समस्या निवारणको माग गर्दै शुक्रबार सहकारी विभागमा मागपत्र बुझाएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा हस्ताक्षर गरिएको सो सोही महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेतीको अगुवाईमा सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितलाई बुझाइएको थियो । उक्त मागपत्र ग्रहण गर्दै सहकारी विभागका रजिष्टार पण्डितले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघ लि.,नेपालसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
सो महासंघको यही मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले सहकारी क्षेत्रमा देखिएका हमस्या हमाधानका लागि सोही महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षतामा उप-समिति गठन गरेको थियो । उक्त उप-समितिले अध्ययन गरी पहिल्याएको सहकारीका समस्या समाधानको लागि यो मागपत्र सहकारी विभागमा बुझाएको बताइएको छ ।
यस्तैगरी गत हप्ता बागमती प्रदेश सहकारी संघ लि.को अगुवाईमा १३ वटा सहकारी संघले पनि सहकारी विभागमा ५ बुँदे मागपत्र बुझाएका थिए ।
यता राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले सदस्यता नवीकरण नगरेका सहकारी संघहरुलाई सदस्यता नवीकरण गर्न आग्रह छ ।