राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष मल्ल र काठमाडौंका महिला सहकारी अभियानकर्मीहरु बीच अन्तर्क्रिया

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी अध्यक्ष ओमदेवी मल्ल र काठमाडौंका महिला सहकारी अभियानकर्मीहरु बीच आइतबार भेटघाट भई अन्तर्क्रिया भएको छ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी महासंघ लि., नेपालको कार्यालयमा सहकारीको बर्तमान अवस्था सहितको विषयमा भएको अन्तर्क्रियामा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी अध्यक्ष मल्ल समक्ष ३ बुँदे माग प्रस्तुत गरेको सो भेटमा सहभागीहरुले बताएका छन । जिल्ला सहकारी संघ लि.,काठमाडौंकी उपाध्यक्ष तथा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष अमरावती बलामी महर्जनको नेतृत्वमा गएको काठमाडौका महिला सहकारी अभियानकर्मीहरु सम्मिलित प्रतिनिधि मण्डलले अध्यक्ष मल्ललाई सफल कार्यकालको शुभकामना सहित सो महासंघको अध्यक्षमा निर्विरोध चयन हुनुभएकोमा बधाई ज्ञापन गरेको थियो ।

त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष मल्लले सहकारी क्षेत्रमा देखिएको चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्नका लागि दृढतापूर्वक कार्य गर्ने बताउनुभयो । सहकारीको विषयमा भ्रम फैलाउनेहरुविरुद्ध समेत एकजुट भएर लाग्नुपर्छ भन्दै सहकारीमा सुशासन कायम गर्नका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स‍ोही महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको समेत उपस्थिति रहेको उक्त अन्तर्क्रियामा जिल्ला सहकारी संघ लि.,काठमाडौंकी उपाध्यक्ष महर्जनले जसरी हामी विवाहित महिलाको नागरिकताको प्रमाण-पत्रमा जन्म दिने बाबुको नाम लेखिन्छ, त्यसैगरी जिल्ला सहकारी संघ या अन्य संयन्त्रमा रहेपछि हामीले प्रतिनिधित्व गर्ने प्रारम्भिक सहकारी संस्थाबाट हट्नु पर्ने भन्ने व्यवस्था सहकारी ऐन र नियमावली परिमार्जन गरेर भएपनि हटाउन, विना प्रमाण सहकारी विरुद्ध अनर्गल प्रचार गर्नेहरुलाई र नियामक निकायले ठग भनेर निर्णय नगर्दासम्म ज‍ोकोही सहकारीकर्मीलाई विना प्रमाण ठग भन्नेलाई कानुनी दााायरामा ल्याउन पहल गर्न तथा फटाई गर्ने सहकारीकर्मीलाई कारबाहीको दायरामा ल्याउन र राम्रो कार्य गर्ने सहकारीकर्मीलाई सम्मान गर्ने परिपाटी बनाउन पहल गर्न राष्ट्रिय सहकारी महासंघको नेतृत्वलाई अनुरोध गर्नुभयो । महिलाले केही गर्न सक्तिन भन्ने मानसिकता धेरै मानिसहरुमा रहिरहेको बेलामा सहकारी अभियानको नेतृत्वमा महिला निर्वाचित हुनु खुशीको कुरा हो भन्दै उहाँले ‘तपाईहरु नीति नियम संगत ढंगबाट अगाडि बढ्नुस् , जिल्ला सहकारी संघ र हामी महिला सहकारीकर्मीहरुको साथ र सहयोग रहन्छ’, भन्नुभयो ।

उक्त प्रतिनिधि मण्डलमा काठमाडौंका सबैजसो पालिकामा रहेका महिला सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *