लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आर्थिक वर्ष २०८०/०८१ को बार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यक्रम साविक भक्तपुर नगरपालिका वडा नं.१५ का पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा २०८१ श्रावण २६ गते शनिबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि खर्बुजाले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमको बारेमा चर्चा गर्दै जातजाति र धर्मको नाममा विभेद गरी अगाडि बढेसम्म राष्ट्रमा हिंसा, युद्ध, विध्वंस र विपत्ति मात्र निम्तने भएकोले वर्गीय संघर्षबाट अगाडि बढ्नु पर्ने विचार व्यक्त गर्नुभयो । उहाँले बंगलादेशको पछिल्लो विकसित घटनाक्रमको मुख्य विषयवस्तुहरुलाई इङ्गित गर्दै हाम्रो देशको पछिल्लो राजनीतिक गतिविधिले त्यस्तो घटना घट्न सक्ने भएकोले समयमै सजक हुनु पर्ने खाँचो औल्याउनुभयो । देशको अस्थीर राजनीतिक परिवेशको चर्चा गर्दै विद्युत महसुल बक्यौतामा देखा परेको राजनीतिक संरक्षण तथा स्वार्थले देशलाई घात भईरहेकोमा आपत्ती जनाउदै उहाँले ख्वप विश्वविद्यालयको विद्ययक फिर्ता ठुला दलको घृणित राजनीतिक कार्य भएको बताउनुभयो । देशमा बर्षेनी हुने डुबान तथा बाढी पहिरो सम्बन्धमा विज्ञहरुले दिएको पछिल्ला प्रतिवेदनहरुले मापदण्ड उलंघन, अनियन्त्रित बाटोघाटो निर्माण, साघुरो खोला तथा अव्यवस्थित शहरीकरणको परिणाम भएको बताउदै उहाँले संघ संस्थाहरुमा महिला नेतृत्वको महत्वका विषमा कुरा राख्दै संस्थाबाट गर्दै आएका कार्यहरु सम्बन्धमा सल्लाह सुझावहरु पनि दिनुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं.२ का वडा सदस्य एवं सहकारी अनुगमण समितिका सदस्य श्यामसुन्दर मातांले समुदायमा आधारित सहकारी संस्थाले व्यक्तिगत हितका लागि नभई सामूहिक हितका लागि हुने किसिमका उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नगरपालिकाले गर्दै आएका सहकारीसँग सम्बन्धित विभिन्न गतिविधिहरु, सहकारी अनुगमनबाट देखिएका सहकारीका समस्या र समस्यामा पर्नुको कारणहरुको बारेमा जानकारी दिनु भएको थियो । नगरपालिकाबाट संचालित देकोमिवा इतापाके जग्गा एकीकरण आयोजना सम्पन्न हुने अन्तिम चरणमा रहेको जानकारी दिदै भक्तपुर नगरपालिकाले जनसमुदायलाई अतिआवश्यक तालिमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
उक्त कार्यक्रमको अध्यक्षता गर्दै लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजन जतिले सहकारी संस्था समुदायमा आधारित रहेर मात्र सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । अहिले समस्यामा परेका सहकारी संस्थाहरु अधिकांश समुदायमा आधारित नभएका सहकारी रहेको तथा समुदायमा सहकारी शिक्षाको कमी हुनु र संस्था नचिनी बचत जम्मा गर्दा ठुलो संख्यामा बचत रकम फिर्ता नभएको बताउनुभयो । उहाँले जनसमुदायमा सहकारी शिक्षा दिनु पर्ने, सरकारबाट पनि सहकारी सम्बन्धी नीति, नियम र निर्देशन कडाईका साथ लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.ले गर्दै आएका विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्ने किसिमका गतिविधि तथा क्रियाकलापहरुको बारेमा समेत जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले संस्थाको लेखा प्रतिवेदन, सचिव राजु छुकांले संस्थाको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाका उपाध्यक्ष प्रनेश बाटी , प्रबन्धक प्रशान्त मानन्धर लगायतले पनि आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम झलक