भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप-समितिको आयोजनामा मादल प्रशिक्षण शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । सो संस्थाको १८औं स्थापना दिवसको अवसरमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य एवं भक्तपुर नगरपालिकाका सहकारी अनुगमन समितिका सदस्य श्याम सुन्दर मातांले सांस्कृतिक कलालाई जगेर्नामा सहकारीले यस्ता कार्यक्रमहरु नियमित गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नगरपालिकाबाट गर्दै आएको विभिन्न कार्यको बारेमा चर्चा गर्दै हाल भक्तपुरमा नियम विपरीत सञ्चालनमा रहेका बहुउद्देश्यीय सहकारी संस्थालाई भक्तपुर नगरपालिकाबाट सूचना जारी गरेपछि सहकारी संस्थाहरु सुधारका लागि आवश्यक प्रक्रियामा गएको बताउनुभयो । त्यसै अवसरमा उक्त संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरुले वित्तीय कारोबार मात्र नभई सदस्य केन्द्रित विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम र सहकारी भ्रमणहरुको आयोजना गर्नुपर्ने आवश्यकता औंल्याउदै हाम्रो यस संस्थाले विगतका दिनहरुदेखि नै सदस्यहरुको व्यक्तित्व विकास हुने विभिन्न शीपमूलक तालिमहरु सञ्चालन गर्दै आएको बताउनु भयो ।
त्यस संस्थाको १८औं स्थापना दिवसको अवसर पारेर विभिन्न उप-समितिहरु मार्फत यही पुस २३ गते रक्तदान तथा हार्डजोर्नी सम्बन्धी स्वास्थ्य शिविर र पुस ३० गते सदस्यहरु बीच हुने विभिन्न खेलकुद प्रतियोगिता एवं बाल बचतकर्ताहरुको नेपाल भाषा सस्वर वाचन प्रतियोगिता हुने भएकोले यसमा सहभागिताको लागि आवहन गर्नुभयो ।
संस्थाका सञ्चालक सदस्य एवं सांस्कृतिक उप-समितिका संयोजक कमलश्वरी खर्वुजाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रशिक्षक रभिम कपाली र दिलप्रसाद सुवालले आ- आफ्नो विचार व्यक्त भयो ।
एक महिनासम्म सञ्चालन हुने मादल प्रशिक्षणमा जम्मा १८ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको जनाइएको छ ।
आफ्ना शेयर सदस्यहरु बीच वित्तीय कारोवार गर्दै आएको समुदायमा आधारित त्यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा यसरी नै विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।
मादल प्रशिक्षणको शुभारम्भ कार्यक्रमको तस्विर