रास्वपाका सभापति तथा पूर्व उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला अदालतले तोकेको रु.६० लाख धरौटी रकम बुझाएका छन् । पोखरामा झै आज पनि प्रभु बैंक लि.ले उक्त धरौटी रकमको ज्ञारेण्टी बस्न सहमती गरेसँगै आइतबारबाट प्रहरी हिरासतमा रहेका लामिछानेेलाई परिवारलाई बुझाउन लागेको बताइएको छ ।

गत बिहीबार कास्की जिल्ला अदालतले रु.६५ लाख धरौटीमा छाड्न आदेश दिएसँगै ८४ दिन पोखरामा प्रहरी हिरासत बसाईबाट छुटेका लामिछाने गत आइतबार आफै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । सरकारी वकिल, जाहेरवाला र प्रतिवादी लामिछानेको तर्फबाट कानुन व्यवसायीहरुको बहस सकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायधीश माधवप्रसाद अधिकारीको इजालासले लामिछानेलाई रु.६० लाख धरौटी बुझाएर छाड्न आदेश दिएको थियो । अब लामिछाने कास्की जिल्ला अदालतमा झै काठमाडौं जिल्ला अदालतमा आफू विरुद्ध दायर भएको मुद्धा प्रहरी हिरसात बाहिरै बसेर लड्न पाउने छन् तर चितवन , पर्सा र रुपन्देहीमा भने उनी विरुद्धका मुद्धाको बारेमा अहिल्यै यसै होला भनेर भन्न सकिने अवस्था नरहेको सरोकारवालाहरु बताउछन् ।