ललितपुरको सौगलमा आफ्नै भवनमा रहेको केन्द्रीय कार्यालय र चल्खुमा रहेको सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको स्कोप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उप-समितिको आयोजनामा तितौरा बनाउने तालिम सम्पन्न भयो । यही पुस १३ गतेदेखि २० गतेसम्म सोही संस्थाको केन्द्रीय कार्यालय , सौगलमा सम्पन्न उक्त तालिममा बेड एण्ड पिज्जाको तर्फबाट प्रशिक्षक कमलतारा तुलाधरले सहजीकरण गर्नुभयो । तालिममा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई उक्त संस्थाका अध्यक्ष वीरकाजी शाक्यले प्रमाण-पत्र प्रदान गर्नुभयो । त्यस अवसरमा सो संस्थाका अध्यक्ष शाक्यले उक्त संस्थाको गतिविधि र भावी योजनाको बारेमा प्रकाश पार्दै यो तालिमबाट सिकेको सीपलाई तालिमका प्रशिक्षार्थीहरुले व्यवहारमा उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सहजीकरण गर्ने प्रशिक्षक कमलतारा तुलाधर तथा उक्त तालिम सम्पन्न गर्ने सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । त्यसै संस्थाको महिला उप-समितिकी सदस्य डानशोभा शाक्यले सञ्चालन गर्नु भएको उक्त तालिमको समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै त्यसै संस्थाका संस्थापक अध्यक्ष किशोरभाइ बज्राचार्यले समुदायमा आधारित रहेर सञ्चालन भएको स्कोप साकोसले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी सीपमूलक तालिम आयोजना गरेको प्रति प्रशन्नता व्यक्त गर्दै सहकारीको महत्वको बारेमा प्रकाश पार्नुभयो ।
यसैगरी उक्त संस्थाको आयोजनामा यही पुस २६ गतेदेखि माघ ४ गतेसम्म उद्घोषण तालिम सञ्चालन हुने भएको छ । सो तालिमको दीपश्री मिडियाका दीपक लामिछानेले सहजीकरण गर्ने उक्त संस्थाका व्यवस्थापक बाबुराज बज्राचार्यले बताउनुभयो ।
२०७९ मंसिर मसान्तसम्म त्यस संस्थामा महिला २,४५२ र पुरुष २,०५३ गरी जम्मा शेयर सदस्य संख्या ४,५०५ , शेयर पूँजी रु.७.०६,०५,६००, निक्षेप संकलन रु.७२,०४,३५,९२७.६५ , ऋण लगानी रु.७४,०७,९३,६६०.३५ , लगानी रु.७,३५,७४,४०७.२१ , कोषहरु रु.१०,२४,५२,८९५.५७ र जम्मा सम्पति रु.९६,२०,८८,६६२.२ रहेको सो संस्थाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
तालिमको एक झलक