२०७९ चैत्र २४ देखि २६ गतेसम्म नेपाल कम्युनिष्ट पार्टीको विशेष राष्ट्रिय सम्मेलन हुने

२०७९ चैत्र २४ देखि २६ गतेसम्म नेपाल कम्युनिष्ट पार्टीको विशेष राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलको अध्यक्षतामा हिजोदेखि जारी त्यस पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । त्यस बैठकले उक्त पार्टीको ३ महिने पार्टी संगठन बिस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ । यसैगरी सोही बैठकले आउदो माघ १२ देखि १४ गतेसम्म पार्टीको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष ऋषि कट्टेलले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन र केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्टले प्रस्तुत गर्नु भएको सांगठानिक प्रतिवेदन सुझाव सहित पारित गरेको बैठकमा सहभागी एक नेताले बताउनुभएको छ । बैठकले संयुक्त रणनीतिक मोर्चालाई थप शसक्त बनाउन पहल गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुसँग सिद्धान्तनिष्ट पार्टी एकताका लागि पहल र प्रयत्न गर्ने निर्णय गरेको छ । संसदवादलाई कम्युनिष्ट आन्दोलन भित्रको कार्यनीतिक सवाल मात्र नभई यो रणनीतिक सवाल हो भन्ने निश्कर्षमा पुगेको सो पार्टीले यो विषयको बारेमा अन्य कम्युनिष्ट पार्टीहरुसँग छलफल , बहस र अन्तर्क्रिया गर्ने भएको छ ।

बैठकले श्रमजीवी जनतालाई मार पर्ने गरी बढाइएको उपभोग्य बस्तुको मुल्य बृद्धि , कालाबजारी र भ्रष्टाचारको विरोध गर्दै सरकारले त्यसलाई तत्काल नियन्त्रण गरी जनतालाई राहत प्रदान नगरे संघर्षमा उत्रनुको विकल्प नभएको निर्णय गरेको छ । राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि संघर्षरत त्यस पार्टीले राष्ट्रघाती एमसीसी र एसपीपी सहितका सम्पूर्ण असमान सन्धि सम्झौता खारेज गरी मुलुकको हित हुने गरी छिमेकी तथा मित्र राष्ट्रहरुसँग सन्धि सम्झौता गर्नु पर्ने बैठकबाट पुन: माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *