२ वटा साकोसलाई कारवाही गर्न ललितपुर महानगरको जिल्ला प्रशासन कार्यालय, ललितपुरमा पत्राचार

ललितपुर महानगरपालिकाले आफ्नो नियमन क्षेत्रभित्रका खराब अवस्थाका २ वटा सहकारी संस्थालाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय, ललितपुरलाई पत्राचार गरेको जनाएको छ । कारबाहीको लागि पत्राचार गरिएका सहकारी संस्थामा ललितपुरको हकमा रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि. र कुपण्ड‍ोलमा रहेको युनिक बचत तथा ऋण सहकारी संस्था लि. रहेको ललितपुर महानगरपालिका सहकारी महाशाखाका आठौं तहका अधिकृत चन्द्रलाल डंगोलले बताउनुभएको छ । उजुर परेका ७ वटा र सहकारी अनुगमनका क्रममा पुन: सघन अनुगमन गर्नु पर्ने अवस्था देखिएका ३ वटा गरी १० वटा सहकारी संस्थाको विज्ञ सहितको ललितपुर महानगरपालिकाको टोलीले सघन अनुगमन गरिरहेको उहाँको भनाइ छ ।

आफ्नो नियमन क्षेत्रका ३१९ वटा सहकारी संस्था मध्ये चालू आर्थिक वर्षमा ललितपुर महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरेको ललितपुर महानगरपालिका सहकारी महाशाखाले जनाएको छ । विगतका वर्षमा ललितपुर महानगरपालिकाले ७० वटा सहकारी संस्थाको अनुगमन गरेको बताइएको थियो ।

ललितपुर महानगरपालिकाको नियमन क्षेत्रभित्रका १९० वटा सहकारी संस्थाले आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन् र यो आर्थिक वर्षको अन्तसम्ममा पनि आफ्नो वार्षिक प्रतिवेदन नबुझाउने सहकारी संस्थामा गएर आगामी साउनबाट सघन अनुगमन गर्ने योजना रहेको ललितपुर महानगरपालिका सहकारी महाशाखाका आठौं तहका अधिकृत डंगोलको थप भनाइ छ । ‘माघ १५ गतेपछि रु.२,००० जरिवाना लिएर सहकारी संस्थाको वार्षिक प्रतिवेदन बुझ्ने गरेका छौं’, उहाँले भन्नुभयो । आर्थिक वर्ष २०७९/०८० को अन्तसम्ममा २१४ वटा सहकारी संस्थाले ललितपुर महानगरपालिका सहकारी महाशाखामा आफ्नो प्रतिवेदन बुझाएको बताइएको छ ।

१२ नं. वडाका सहकारी संंस्थाहरुका लागि ललितपुर महानगरपालिकाले आज सहकारी सचेतना कार्यक्रम गर्ने

ललितपुर महानगरपालिकाले आज वडा नं. १२ मा सञ्चालनमा रहेका सहकारी संस्थाहरुका लागि सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । वडा नं.१२ को वडा कार्यालयमा आज विहान ११ बजेदेखि सञ्चालनल हुने कार्यक्रममा सहभागी हुन वडा नं.१२ मा सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई आमन्त्रण गरिएको जनाइएको छ । यस अघि ललितपुर महानगरपालिकाले १ देखि ११ नं. वडामा सञ्चालनमा रहेका सहकारी संस्थाहरुका लागि सहकारी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *