भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवर्द्धन उप-समितिको आयोजनामा केभी लञ्च, भक्तपुरमा २०८१ असार २१ र २२ गते दुई दिवसीय बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भयो । तालिम समापन समारोहमा मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष

कृष्ण गोविन्द लाखाजुले सहकारी संस्थामा बार्षिक योजना तथा बजेट बनाउनु कानुनी व्यवस्था पालना गर्नुको साथै संस्थामा सुशासन कायम गर्नमा समेत टेवा पुग्ने बताउनुभयो । उहाँले सहकारीमा बार्षिक योजना तथा बजेटको महत्वबारे चर्चा गर्दै सहकारी विभागले जारी गरेको निर्देशनकाबारेमा जानकारी गराउनुभयो ।
यसैगरी उक्त संघका कोषाध्यक्ष एंव वित्तीय सेवा प्रवर्द्धन उप-समितिका संयोजक काञ्छाभक्त घजुले सहकारीमा राम्रो योजना र बजेटले मात्र संस्था सफल हुने बताउर्दै बजेट अनुसार खर्च नपुग भएमा अर्को शीर्षकबाट रकमान्तर गर्ने व्यवस्था पनि रहेको बताउनुभयो । यस्तै सोही उप-समितिका सदस्य राजकुमार लघुले तालिमबाट सिकेको कुरा संस्थामा प्रयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी सो संघका व्यवस्थापक बालकृष्ण धोजुले संस्थाको परिकल्पना, ध्येय र उद्देश्य प्राप्त गर्न सकिने गरी बार्षिक योजना तथा बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उक्त अपसरमा सोही तालिमका सहजकर्ता राधेश्याम दुवालले हालको परिस्थितिमा सहकारीलाई नाफा घाटाको होडबाजीमा नलागी सहकारीलाई विषम परिस्थितिबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
तालिममा योजना तथा बजेट बनाउन ध्यान दिनुपर्ने कुरा, योजना तथा बजेटको महत्व, योजनाको प्रकार, बार्षिक योजना प्रक्रिया, संस्थाको आन्तरिक तथा बाह्य विश्लेषण, संस्थाको परिकल्पाना, ध्येय, उद्देश्य, लक्ष्यको प्रयोग लगायतका विषयमा सिक्न पाएँकोमा सहभागीहरुले खुशी व्यक्त गर्नुभयो । संघमा आबद्ध सदस्य संस्थाहरुमध्येबाट कोषाध्यक्ष, व्यवस्थापक वा लेखासहायक गरी १९ जनाको सहभागिता रह्यो । तालिमको समापन समारोहको सञ्चालन त्यसै संघको वित्तीय सेवा प्रवर्द्धन उप-समितिका सदस्य राजाराम गोसाईले गर्नुभयो । तालिममा सहभागीहरुलाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष लाखाजुले प्रमाण-पत्र प्रदान गर्नुभयो ।
