भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा वित्तीय व्यवस्थापन तालिम भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को तालिम हल , च्यामासिंङमा यही पुस २६ र १७ गते सम्पन्न भयो । तालिम समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सोही संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले हाल सहकारी संस्थामा वित्तीय अनुशासन परिपालनाको अभावले समस्या देखिएको बताउदै वित्तीय व्यवस्थापनको ज्ञानको अभावमा सहकारी समस्यामा पर्ने भएकोले सहकारीका सञ्चालक तथा व्यवस्थापनमा वित्तीय व्यवस्थापनको ज्ञान हुन अति जरुरी रहेको आवश्यकता औल्याउनुभयो । उहाँले यस संघले मुख्यतया शिक्षा तालिम, लविङ र अन्तर-लगानी सेवालाई निरन्तर जोड दिदैं आएकोले सोही अनुसार सदस्य संस्थाको वित्तीय व्यवस्थापनमा टेवा पु¥याउने उद्देश्यले यो तालिम सञ्चालन गरेको बताउनुभयो ।
उक्त संघका सचिव एंव संस्थागत विकास उप-समितिका संयोजक जगनाथ प्रजापतीले तालिमले सहकरी वित्तीय व्यवस्थापनका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्दै तालिममा सिकेका कुराहरु व्यवहारमा प्रयोग गरे मात्र तालिमले सार्थकता पाउने विचार व्यक्त गर्नुभयो । सो संघका व्यवस्थापक बालकृष्ण धोजुले वित्तीय व्यवस्थापन गर्न नजान्दा सहकारीमा तरलता सकसको चपेटा रहेको बताउनुभयो । उहाँले सहकारी सञ्चालन प्रक्रियाबारे सदस्यलाई शिक्षित गर्न नसक्दा सहकारीको नकारात्मक सन्देशले सहकारीमा वित्तीय व्यवस्थापनमा चुनौति थपेको विचार व्यक्त गर्नुभयो ।
तालिममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत केशव दाहालले तालिमको पहिलो दिन वित्तीय व्यवस्थापन अन्तर्गत वासलात व्यवस्थापनको बारेमा सहजीकरण गर्नुभयो ।

तालिमको दोस्रो दिन सहजकर्ता कृष्णप्रसाद अचार्यले सहकारीको आय व्यय व्यवस्थापनको बारेमा सहजिकरण गर्नु भएको थियो ।

उहाँले भक्तपुर जिल्ला सहकारी अभियानको नमुना जिल्ला रहेको बताउदै यस संघले निरन्तर सञ्चालन गरेको शिक्षा तालिमले सहकारीको सुद्धिकरण अभियानलाई टेवा पु-याउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस संघमा आबद्ध संस्थाहरुमध्येबाट २२ जनाको सहभागिता रहेको सो तालिममा सहभागी सीता पाण्डे र दीपक श्रेष्ठले यो तालिम निकै प्रभावकारी रहेको बताउदै यस तालिमबाट सहकारीको सम्पति दायित्व व्यवस्थापनदेखि व्याजदर निर्धारण, बेस रेट क्यालकुलेशन लगायतको व्यवहारिक र उपयोगी बिषय सिक्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । उक्त तालिमको समापन कार्यक्रमको सञ्चालन सोही संघकी कर्मचारी श्रृजना तमखुले गर्नुभएको थियो । त्यस अवसरमा उक्त संघका अध्यक्ष लाखाजुले तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गर्नुभयो ।
