भक्तपुर/ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा बार्षिक, त्रिबर्षीय व्यवसायिक योजनाको समीक्षा तथा चार बर्षीय व्यवसायिक योजना निर्माण गोष्ठि यही साउन १४ गते शनिबार होटेल हेरिटेज , बाराहीस्थान, भक्तपुरमा सम्पन्न भयो । सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले उक्त गोष्ठिको अध्यक्षता गर्दै विश्व अर्थतन्त्रमै मन्दी देखिन थालेको र यसको असर नेपालमा परेको बताउनुभयो । उहाँले ‘बजारमा व्याजदर बढ्नु, बचत (निक्षेप) संकलनमा कमी हुनु र ऋणको माग बढ्नु वित्तीय संकटको संकेत हो’,भन्नुभयो । नेपाल राष्ट्र बैंकले हालसालै सार्वजनिक गरेको मौद्रिक नीतिले पनि ऋण लगानीलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै उहाँले सहकारी संस्थाहरुले पनि ऋण लगानीलाई जोड नदिई वित्तीय संकटको सामना गर्न तयारी अवस्थामा रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै त्यसै संघका उपाध्यक्ष हरि बल्लले सहकारीमा ठगी घटना बढ्दै गएको समाचारले सहकारी अभियान चिन्ताको घडीमा रहेको बताउदै यस्ता घटनाहरु हुन नदिन सहकारी दर्तादेखि नै कडा गरी नियमन तथा अनुगमनमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
त्यस गोष्ठिमा उक्त संघका सचिव जगनाथ प्रजापतीले हाम्रो संघको कार्यक्रम प्रगति, संघद्वारा आयोजित कार्यक्रमहरु, बैठक संख्या विवरण आदिको समीक्षात्मक प्रस्तुतीकरण गर्दै सो संघले प्रवाह गर्दै आएका सेवाहरु- मोबाइल एप्स सेवा, समन्वय सेवा, प्रकाशन सेवा, स्टेशनरी सेवा ,परामर्श सेवा आदीको समीक्षा प्रस्तुत गर्नुभयो । यस संघमा हाल २०२ वटा सदस्य संस्था कायम रहेको विवरण समेत प्रस्तुत गर्दै उहाँले यो संघले कारोबारलाई थप प्रविधि मैत्री बनाउन आधुनिक नयाँ सफ्टवेयर प्रयोगमा ल्याएको बताउनुभयो ।
उक्त कार्यक्रममा सोही संघका कोषाध्यक्ष कान्छाभक्त घजुले सो संघको आर्थिक वर्ष २०७८/०७९ को बार्षिक आर्थिक समीक्षा प्रस्तुत गर्नुभयो । उहाँले श्रोततर्फ गत बर्षको तुलनामा ६३ प्रतिशतले बृद्धि भई वासलात रु. १ अर्व ६९ करोड ४९ लाख भएको र अनुमानमा ८८ प्रतिशतले प्रगति भएको विवरण प्रस्तुत गर्नुभयो । उहाँले तरलता अभावका कारण बचत धेरै फिर्ता हुनुको साथै ऋण माग बढी भएकोले ऋण लगानीमा बृद्धि भएको भन्दै तरलताको वित्तीय तथा ऋण लगानी मार्फत गत बर्षको तुलनामा नाफामा ६ प्रतिशतले बृद्धि भई रु.२ करोड ३७ लाख गर्न सफल भएको बताउनुभयो । सो संघका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उपसमितिहरुका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरु गरी ३९ जनाको सहभागिता रहेको त्यस गोष्ठिमा सो संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले संघले सहकारी अभियानको लागि भुमिका खेलेकोमा खुशी व्यक्त गर्दै असल बैठक तथा माइन्युट लेखन तालिम जस्ता आधारभूत तालिमहरु समेत दिनुपर्ने सुझाव दिनुभयो ।
सोही गोष्ठिमा त्यसै संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको बार्षिक अनुमानित बजेट तथा कार्यक्रमकोबारे प्रस्तुतिकरण गर्दे आगामी चार बर्षमा रु.२ अर्व ४८ करोडको वासलात रु.४ करोड १४ लाखको वितीय विवरण र अन्तर सदस्य सहकारी भुक्तानी प्रणालीको विकास समेतको योजना प्रस्तुत गर्नुभयो ।
……………………………………………………….. ……………..