यल अन्तर सहकारी समन्वय समितिको आय‍ोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

यल अन्तर सहकारी समन्वय समिति, ललितपुरको आयोजना तथा त:ननी बचत तथा ऋण सहकारी संस्था लि., न्याढ‍ोल, ललितपुरको व्यवस्थापनमा २०८१ असार १ गते शनिबार पाटनढोका, ललितपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी , ललितपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा सम्पन्न सो रक्तदान कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गरेको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक समेत रहेका त:ननी बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक विनोद महर्जनले बताउनुभयो । रक्तदाताहरुलाई यल अन्तर सहकारी समन्वय समितिका पदाधिकारी लगायतले धन्यबाद सहित प्रमाण-पत्र प्रदान गरेका थिए । यसैगरी उक्त रक्तदान कार्यक्रममा प्राविधिक सहय‍ोग गरेको नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखाका स्वास्थ्यकर्मीहरुलाई आयोजक यल अन्तर सहकारी समन्वय समितिका अध्यक्ष एवं त:ननी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष अष्टलाल महर्जनले स-धन्यबाद मायाको चिनो प्रदान गर्नुभयो ।

कुनै सदस्य संस्थामा तरलता समस्या आएमा उसलाई तरलता व्यवस्थापनमा सहयोग पु-याउने उद्देश्य समेत राखेर स्थापना भएको यल अन्तर सहकारी समन्वय समितिमा ललितपुरका १४ वटा सहकारी संस्था सदस्य छन् । यो समितिको नियम अनुसार यसका सदस्य रहेका सहकारी संस्थाहरुले १/१ वर्ष यो समितिको अध्यक्षता गर्ने र सामान्यतया: प्रत्येक वर्षको साउनमा यसको अध्यक्ष परिवर्तन हुने गरेको छ । गत वर्षको श्रावण महिनाबाट त:ननी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष अष्टलाल महर्जनले यो समितिको अध्यक्षता गर्दै आउनुभएको छ । विगतमा झैं यो वर्ष यल अन्तर सहकारी समन्वय समितिको आय‍ोजनामा रक्तदान कार्यक्रम, सहकारी वित्तीय साक्षरता कार्यक्रम जस्ता विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन भएका छन् ।

खुल्ला रक्तदान कार्यक्रमको झलक

Leave a Reply

Your email address will not be published. Required fields are marked *