रजत वर्षको अवसरमा सामूहिक साकोसद्वारा विभिन्न विधामा १३७ जनालाई सम्मान

भक्तपुरको बोलाछेंमा रहेको आफ्नै भवनमा मुख्य कार्यालय तथा सूर्यविनायक र मध्यपुर थिमिमा रहेका सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.ले रजत वर्ष-२०७९ को अवसर पारेर यही पुस २ गते शनिबार आयोजित विशेष कार्यक्रमका बीच जेष्ठ शेयर सदस्य, संस्थापक सदस्य तथा दश जोड दुई र एस.ई.ई.का गरी १३७ जनालाई सम्मान गरेको छ । सोही संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईँको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा आफ्ना २० जना जेष्ठ शेयर सदस्य , ७१ जा संस्थापक सदस्य तथा शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये उत्कृष्ट जी.पी.ए.का साथ पछिल्लो पटक दश जोड दुई उत्तीर्ण हुने ११ जना र एस. ई. ई. उत्तीर्ण हुने ३४ जनालाई सम्मान गरेको छ । यसैगरी कार्यक्रममा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नं.१(ख) बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईँलाई सम्मान गरियो । उक्त कार्यक्रममा त्यस संस्थाको रजत वर्ष स्मारिका-२०७९ को विमोचन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गोसाइँले सहकारीको विकास र प्रवर्द्धनमा जोड दिदै सहकारीले वित्तीय कार्यमा मात्र सिमित नभई श्रम , संस्कृति र सहकार्यलाई पनि सँगसँगै लिएर भुइँ तहका जनताको आर्थिक तथा सामाजिक उत्थानमा टेवा पुग्ने गरी कार्य गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै उक्त संस्थाका अध्यक्ष राजोपाध्यले सो संस्थाको गतिविधि बारे प्रकाश पार्दै शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र लगनशीलताले हाम्रो यो संस्था रजत वर्षसम्म पुग्न सफल भएको र भविष्यमा पनि यसरी नै सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै त्यसै संस्थाका उपाध्यक्ष एवं रजत वर्ष मूल समारोह उप-समितिका संयोजक राजाभाइ भेलेले सो संस्थाको रजत वर्ष -२०७९ को बारेमा प्रकाश पार्नु भएको थियो । सो कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.की सञ्चालक कृष्णश्वरी प्रजापती तथा कार्यक्रम आयोजक संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक नित्यनाथ श्रेष्ठ र संस्थापक सदस्य एवं पूर्व अध्यक्ष राजेशबहादुर श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै त्यस संस्थाको थप प्रगतिको कामना गर्नुभयो । सोही संस्थाका सचिव कृष्णहरि सैंजुले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा १५६ जना भन्दा बढीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *