लोकेश्वर साकोसको १८औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर सम्पन्न


भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं बार्षिक उत्सवको अवसरमा यही पुस २३ गते शनिबार सोही संस्थाको स्वास्थ्य उप-समितिको आयोजनामा रक्तदान कार्यक्रम तथा हाडजोर्नी र नसा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर भक्तपुरको तेखापुखुमा सम्पन्न भयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले भक्तपुरमा समुदायमा आधारित सहकारीले सामाजिक दायित्व निर्वाह गर्दै आएकोमा खुसी व्यक्त गर्दै गैह्र समुदायमा आधारित सहकारीको नाफामुखी तथा लुटतन्त्रले अहिले जनताको पैसा सुरक्षित नभएको तथा वित्तीय बजारमा देखिएको आर्थिक मन्दीको मार जनस्तरमा दैनिक विभिन्न घटनाबाट छर्लङ्ग भएको बताउनुभयो । त्यस अवसरमा उक्त संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित संस्थाको महत्व र संस्थाले हालसम्म वित्तीयका अलावा सामूदायिक दायित्व निर्वाह गर्दै आएका गतिविधिबारे जानकारी दिनुभयो ।
सो रक्तदान कार्यक्रममा २८ जनाले रक्तदाताले रक्तदान गरेका थिए । उक्त नि:शुल्क स्वास्थ्य शिविरमा ६५ जनाले हाडजोर्नी तथा नसाको जाच गरी स्वास्थ्य लाभ लिएको उक्त कार्यक्रममा निःशुल्क औषधी वितरण समेत गरेको त्यसै संस्थाका स्वास्थ्य उप-समितिका संयोजक प्रज्वल खत्री बताउनु भयो । रक्तदाताहरुलाई सोही संस्थाका अध्यक्ष जतिले प्रमाण-पत्र प्रदान गर्नुभयो ।

यो संस्थाको १८औं बार्षिक उत्सव कार्यक्रमकै अवसरमा यही पुस ३० गते अन्तर- सदस्यीय महिला डोरी तान्ने प्रतियोगिता, पुरुष व्याडमिन्टन प्रतियोगिता तथा बाल बचतकर्ताहरु बीच नेपाल भाषामा सस्वर वाचन कार्यक्रम हुने जानकारी संस्थाका कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले दिनुभयो ।

Leave a Reply