भक्तपुरको मध्यपुर थिमि नगरपालिका -१, लोहकिल्थलीमा रहेको लोहकिल्थली माता बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई आवश्कता अनुसार आयमूलक, रोजगारमूलक र जानकारीमूलक तालिम सञ्चालन गर्ने भएको छ । यही पुस १६ गते , लोहकिल्थलीस्थित निर्मल बैङ्क्वेटमा सम्पन्न सो संस्थाको १५औं वार्षिक साधारण सभाले उक्त निर्णय गरेको सोही संस्थाका व्यवस्थापक करण द्वारेको भनाई छ । उक्त संस्थाका अध्यक्ष हरिकृष्ण द्वारेको अध्यक्षता तथा जिल्ला सहकारी संघ लि.,भक्तपुरका अध्यक्ष केदार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न त्यस साधारण सभाले सो संस्थाले स्वास्थ्यलाई प्राथमिकता दिदै समय सापेक्ष स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु ल्याउने, असामान्य परिस्थितिले गर्दा गत आर्थिक वर्षमा सुचारु गर्न नसकेका संस्थाका कार्य योजनाहरुलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्दै जाने लगायतका योजना सहित त्यसै संस्थाका अध्यक्ष हरिकृष्ण द्वारेले प्रस्तुत गर्नु भएको प्रतिवेदन , सचिव जयराम हेकाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गर्नु भएको संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष श्यामकृष्ण मुस्यानले प्रस्तुत गर्नु भएको संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सानुकाजी द्वारेले प्रस्तुत गर्नु भएको संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन शेयर सदस्यहरु बीच छलफल गरी पारित ग-यो ।
स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको त्यस संस्थाले वित्तीय कारोवारसँगै स्थानीय कला , संस्कृति लगायतको प्रबर्द्धनमा सहयोग पुग्ने गरी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ ।