ललितपुर महानगरपालिका-९, च्यासल-भोलढोकामा
रहेको गजलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को ४ वर्षे कार्यकाल रहने गरी विनोद अवालेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा विजयकृष्ण महर्जन , सचिवमा सगुन शाक्य र कोषाध्यक्षमा सुरेश महर्जन तथा सदस्यमा अशोक महर्जन , विश्वास व्यक्त महर्जन र रविन महर्जन हुनुहुन्छ । यसैगरी उक्त संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा सुजन शाक्य तथा सदस्यमा मनोज महर्जन र रिकेन महर्जन चयन हुनुभएको छ ।
उक्त संस्थाको १०औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष सागर महर्जनको अध्यक्षता तथा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक एवं बहुउद्देश्यीय सहकारी संघ लि.,ललितपुरका अध्यक्ष शरदकुमार महर्जनको प्रमुख आतिथ्यतामा यही पुस ३ गते श्री शान्ति विद्याश्रम मा.वि. लोल, ललितपुरमा सम्पन्न भयो । प्रमुख अतिथि महर्जनले पानसमा दीप प्रज्वलन गरी त्यस साधारण सभाको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले समुदायमा आधारित यस गजलक्ष्मी साकोसको प्रतिवेदनमा उल्लेख भएका सबै सूचकाङ्क राम्रो रहेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले सहकारी सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी समुदायमा आधारित रहेर सञ्चालन भएका सहकारी संस्थामा तरलता समस्या नरहेकोले यस संस्थाका सबै शेयर सदस्यहरुलाई ढुक्क भएर यो संस्थामा कारोवार गर्न आग्र। गर्नुभयो । साधारण सभामा शुभकामना मन्तव्य व्यक्त ललितपुर महानगरपालिका सहकारी शाखाका शाखा अधिकृत चिरिञ्जीवी पौडेलले ललितपुर महानगरपालिकाले सहकारीको विकास र प्रवर्द्धनका लागि गरिरहेको कार्यको बारेमा चर्चा गर्दै सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्ने भताउनुभयो । त्यसैगरी साधारण सभामा क्वालाछी च्यास: टोल सुधार समितिका अध्यक्ष श्याम अवालेले यस गजलक्ष्मी साकोसले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्नुका साथै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने गरी कार्य गरिरहेको बताउदै यो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।
साधारण सभाको अध्यक्षता गर्दै गर्दै सो संस्थाका अध्यक्ष महर्जनले ‘समाजमा छरिएर रहेको स-सानो रकमलाई बचतको माध्यमबाट संकलन गरेर त्यसलाई कर्जाको माध्यमबाट प्रवाह गरी आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पु-याउने उद्देश्यले स्थापना भएको हाम्रो यो संस्था शेयर सदस्य ज्यूहरुको साथ र सहयोगले निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ भन्दै त्यसका लागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले त्यस संस्था गतिविधि र भावी योजनाको बारेमा प्रकाश पार्दै ‘सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरेर र नियामक निकायहरुका नीति र निर्देशन पालना गरी अगाडि बढिरहेको हाम्रो यो संस्थामा तरलता अवस्था राम्रो छ’, भन्नुभयो ।
त्यसै संस्थाका सचिव सगुन शाक्यले सञ्चालन र ऋण उप-समितिका संयोजक विजयकृष्ण महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस साधारण सभाले उक्त संस्थाको वार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित ग-यो ।