भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १५औं बार्षिक सधारणसभा सम्पन्न भयो । सो साधारण सभा यही पुस १६ गते शनिबार यचु पार्टी भेन्यु , शंखधर चोकमा सोही संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि रहेका बागमती प्रदेश सभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि डा.श्रेष्ठले शुभश्री साकोसले स्थापना भएको छोटो समयमा गरेको प्रगति र यसले आफ्ना शेयर सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानमा पु-याएको योगदानको प्रशंसा गर्दै उक्त संस्थाको थप प्रगतिको कामना गर्नुभयो । त्यसैगरी साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनका भूतपूर्व अध्यक्ष एवं सहकारी विद कैलाशभक्त प्रधानाङले सहकारीले सामाजिक, आर्थिक तथा सांस्कृतिक श्रेत्रमा पु-याएको योगदानको चर्चा गर्दै ‘समुदायमा आधारित रही सहकारी नीति , सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरेर सञ्चालन भएका सहकारी संस्थाहरुको अवस्था राम्रो रहेको बताउनुभयो । कतिपय सहकारी संस्थाले बढी व्याजको लोभ देखाएर सदस्यहरुलाई ठगेकोले राम्रो सँग सञ्चालन भएका सहकारी संस्थाहरुले पनि बद्नामी सहनु परेको भन्दै उहाँले सदस्यहरुले बढी व्याज दिने सहकारी संस्थामा नभई शुभश्री साकोस जस्ता समुदाय आधारित र सदस्य केन्द्रित भएर राम्रोसँग सञ्चालन भएका सहकारी संस्थामा कारोवार गर्नु पर्नेमा जोड दिनुभयो । भक्तपुरको सहकारी अभियान अन्तको तुलनमा राम्रो रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले शुद्ध आचरण र पारदर्शी भई जसको जे उद्देश्य हो , सोही अनुरुप सहकारी संस्थाहरु सञ्चालन हुन सकेमा सहकारीमा समस्या नआउने र त्यसका लागि नियामक निकायले सहकारी अनुगमन राम्रो सँग गर्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै नेफ्स्कुनकी सञ्चालक मन्दरा मिश्रले सामुदायिक र सदस्य केन्द्रित संस्थामा भन्दा पनि पारिवारिक रुपले चलेको सहकारी संस्थामा समस्या रहेको बताउदै बढी व्याजको लोभमा भन्दा पनि संस्थाका सञ्चालकहरुको पृष्ठभूमि बुझेर मात्र सहकारी संस्थामा सदस्य बनेर वित्तीय कारोबार गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । त्यसै अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक पञ्चकृष्ण श्रेष्ठले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सदस्य संस्थाहरुलाई तरलता व्यवस्थापनमा सघाउँदै आएको बताउदै सहकारीको सिद्धान्त , मुल्य र मान्यता विपरीत बिना धितो ऋण लगानी गर्ने र सञ्चालक हावी भएर संस्थाको बचत जथाभावी चलेका सहकारी संस्थामा मात्रै समस्या आएको बताउनुभयो ।
साधारण सभाको अध्यक्षता गरेका त्यसै संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले ‘सहकारीको नीति, सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी सदस्यहरुको मर्म र भावना अनुसार समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ’, भन्नुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुमा समेत तरला अभाव रहेको र त्यसको प्रभाव सहकारीमा परेतापनि हाम्रो यस संस्थामा भने तरलता पर्याप्त रहेको बताउनुभयो । उहाँले सामाजिक, आर्थिक , सांस्कृतिक र पर्यावरणको क्षेत्रमा समेत योगदान पु-याउदै आएको हाम्रो यो संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधि मार्फत सहज ढंगबाट वित्तीय सेवा प्रवाह गर्ने उद्देश्यले संस्थाले मोवाइल बैंकिङ सेवा शुरु गरेको जानकारी दिदै यस संस्थाको कार्यक्षेत्र भक्तपुर जिल्लाभर बिस्तार गर्ने योजना रहेको विचार व्यक्त गर्नुभयो । संघ, प्रदेश र पालिकाको फरक-फरक ऐन र नियम रहेको र ती ऐनका कतिपय कुरा एक अर्कामा बाझिएकाले काम गर्न अप्ठयारो भएको उहाँको भनाई थियो ।

साधारण सभामा सोही संस्थाका कोषाध्यक्ष तुल्शीमान श्रेष्ठले संस्थाको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/०८० को योजना प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८/०७९ को अन्तसम्ममा सो संस्थामा शेयर सदस्य संख्या २,६५३, शेयर पूँजी रु.४,६७,३१,०००, निक्षेप संकलन रु.३२,७०,९७,००० र कर्जा लगानी रु.२४,१९,३१,००० रहेको र संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा रु.४९,१६,००० खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा निःशुल्क आँखा,दाँत तथा स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य शिविर सञ्चालन , रक्तदान कार्यक्रम जस्ता रचनात्मक सामाजिक कार्य गर्दै आएको उक्त संस्थाको त्यस साधारणसभामा संस्थाका जेष्ठ शेयर सदस्य, शिक्षा विद तथा राष्ट्रिय खेलाडीलाई सम्मान गर्नुका साथै २०७८ सालको एस.ई.ई.मा उत्कृष्ट जीपीएका साथ उत्तीर्ण भएका शेयर सदस्यहरुका छोराछोरीलाई पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो । साधारण सभाका अध्यक्ष श्रेष्ठले प्रमुख अतिथि सहितलाई मायाको चिनो प्रदान गर्नुभयो ।
यता उक्त संस्थाले २०७९ मंसिर मसान्तसम्म आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गरेको छ ।
