नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले औद्य‍ोगिक सम्बन्ध अभिवृद्धि गर्ने

नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच सुमधुर औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । रोजगारदाता र श्रमिकबीच समझदारी गरी अगाडि बढेको सम्भवतः दक्षिण पूर्वी एसियाकै पहिलो हो ।
समझदारीपत्रमा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष राजेशकुमार अग्रवाल र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

समझदारीपत्रमा हस्ताक्षर गर्ने विशेष कार्यक्रममा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रमा आवद्ध सबै ट्रेड युनियनका पदाधिकारी एवं प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।


समझदारीपत्रको मुख्य उद्देश्य रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्धको विकास गर्दै लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीका थप अवसरहरु सिर्जना, जीवनस्तर विकास, उत्पादकत्व वृद्धि गर्दै मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्नु रहेको छ ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले विश्व श्रम बजारको इतिहासमा श्रमिक र रोजगारदाताहरुको विषय, सवाल, मुद्दामा आधिकारिक रुपमा सहकार्य भएको सम्भवत यो पहिलो अभ्यास भएको बताउनुभयो । यस प्रकारको सहकार्य तथा समझदारीले उत्पादन, सीप, रोजगारीका समस्या तथा चुनौतीहरुलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । श्रमिक र रोजगारदाताबीचको सौहार्दपूर्ण सम्बन्धबाट नै आर्थिक संमृद्धि हासिल गर्न योगदान दिन सकिन्छ भन्नेमा परिसंघले विश्वास राख्दै आएको भन्नुहुँदै उहाँले मजदुर र मालिक होइन, यी दुई आर्थिक संमृद्धिको सहयात्री हुन् भन्ने विषयलाई आत्मसाथ गर्दै आएको बताउनुभयो । अध्यक्ष अग्रवालले यो समझदारी विदेशी लगानीकर्ताका लागि समेत सुखद् सन्देश बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले विगतमा रोजगारदाता र श्रमिकको सम्बन्ध “बाघ र बाख्रा” जस्तो द्वन्दात्मक परिस्थितिको स्मरण गर्नुहुँदै हाल रोजगारदाता र श्रमिकबीचको सम्बन्ध “पानी र माछा” भएको बताउनुभयो । यो सम्बन्धलाई आत्मसाथ गर्दा रोजगारदाता र श्रमिकबीच सौहार्दपूर्ण वातावरण तयार भएको र रोजगारदाताहरुसँग समझदारी गरेर अगाडि बढ्न सकिने चरणमा आइपुगेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्य‍ोग परिसंघका उपाध्यक्ष भीम घिमिरेले यस समझदारी देशको आर्थिक समुन्नति, औद्योगिक विकास र वैदेशिक लगानीको वातावरणलाई आकर्षित गर्न मुख्य औजार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल ट्रेड यूनियन कांग्रेसकाअध्यक्ष योगेन्द्रकुमार कुँवर, महासचिव अजयकुमार राई, नेपाल ट्रेड यूनियन महासंघका महासचिव लक्ष्मण शर्मा, महिला नेत्री सीता लामा, अखिल नेपाल ट्रेड यूनियन महासंघका उपाध्यक्ष धनबहादुर वि.क.लगायतले यो समझदारीको स्वागत गर्दै कार्ययोजना तयार गरी द्विपक्षीय संयन्त्रलाई नयाँ आयामबाट पालन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, पदाधिकारी सदस्य गोकुल भण्डारी, परिसंघ रोजगारदाता परिषद्का सभापति धु्र्व रिजाल, समन्वय केन्द्रमा आवद्द ८ राष्ट्रिय महासंघका अध्यक्ष, महिला समिति संयोजक, महासचिव, परिसंघका रोजगारदाता परिषद्का सदस्यहरु लगायत सहभागी हुनुहुन्थ्यो ।

सेजन नयाँ कार्यसमितिलाई नेपाल उद्योग परिसंघको बधाई, अर्थतन्त्रका विषयमा छलफल

नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामनासहित अर्थतन्त्रका विषयमा छलफल गरेको छ । यही विहीबार परिसंघ सचिवालयमा आयोजित बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सेजनका अध्यक्ष सुजन ओलीसहित नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा उहाँले मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका लागि सबैको प्रयासको खाँचो रहेको बताउनुभयो । विदेशी मुद्रा संचितीमा दबाब पर्दा लिइएको नीति, कोभिड-१९ को असरबाट बाहिर निस्कन नपाउँदै प्रभावित क्षेत्रलाई दिइएको छुट तथा सुविधा एकै पटक हटाउँदा अर्थतन्त्र आजको अवस्थामा आइपुगेको उहाँले बताउनुभयो । आर्थिक मन्दीका कारण उद्योग व्यवसायी, सरकारलगायत सर्वसाधारण समेत खर्च गर्न डराएका कारणले माग घटेको भन्नुहुँदै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन बजारमा पैसा पठाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अर्थतन्त्रलाई थप जटिलतामा जानबाट रोक्न समयमै सुधार गरिनुपर्ने बताउनुभयो । “अर्थतन्त्रलाई डीप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ, ढिलो गरी गरिने सुधारले काम नगर्न पनि सक्छ”, उहाँले भन्नुभयो । अर्थतन्त्रलाई छिट्टै सुधारतर्फ लैजान सरकारले पूँजीगत खर्च गर्नुपर्ने, निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी दिनुपर्ने उहाँले बताउनुभयो । यसैगरी नेपाल राष्ट्र बैंकले प्रभावित क्षेत्रका लागि कर्जाको पुनर्संरचना र पुनर्कर्जाको पैसा दिनुपर्ने बताउनुभयो ।
उक्त अवसरमा सेजनका नवनिर्वाचित अध्यक्ष ओलीले व्यवसायिक वातावरण बनाउन काम गर्नुपर्ने बताउनुभयो । सेजन नीतिगत सुधारमा लागेको भन्नुुहुँदै कानून तथा नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो ।
सो कार्यक्रममा परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, भीम घिमिरे, परिसंघ पदाधिकारी सदस्य गोकुल भण्डारी, सन्दीप सारडालगायत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply