अखिल आन्दोलन र स्व.वि.यू. निर्वाचन


  • ऋषि कट्टेल

अचेल स्व.वि.यू. निर्वाचनको निकै हल्लाखल्ला छ । कही कसैले प्यानलनै जिते अरे । कही गठवन्धन गरे अरे । कतै खुकुरी प्रहार गरे त कतै क्याम्पसमा ताला लागे आदिआदि ।

यो स्व.वि.यू. चुनावसँग अखिल आन्दोलन गाँसिएको छ । हामी अखिल आन्दोलनको प्रारम्भ कालका कार्यकर्ता भएकोले होला- हामीलाई अखिल भन्ना साथै गर्व लाग्दछ । अखिल वास्तवमै राष्ट्रियताको पहरेदार,जनवादी अर्थात जनताको पक्षधर शिक्षाको वैचारिक संवाहक र जनताको स्वतन्त्रता र जनजीविकाका पक्षपोषण गर्ने संगठनको रुपमा जनप्रिय थियो ।
यहाँ स्मरण के गराउन खोजिएको हो भने अखिललाई मुख्य तीनवटा उद्देश्य- राष्ट्रियता, जनजीविका र जनवादी शिक्षा प्राप्तिको लागि संघर्ष गर्ने संस्थाको रुपमा नेपाल कम्युनिष्ट पार्टीले आफ्नो जनसंगठनको रुपमा स्थापना गरेको थियो । २०२२ मा स्थापना भएदेखि पञ्चायत कालसम्म यसले यी उद्देश्य प्राप्तिमा गौरव पूर्ण संघर्षको इतिहाँस कायम गरेको छ ।
२०४६ पछि क्रमश: यसमा वैचारिक स्खलन सुरु भयो । पहिले २०२२ मा रुसी संशोधनवादले तत्कालीन विद्यार्थी फेडेरेसन कव्जा गरेपछि कम्युनिष्ट क्रान्तिकारीहरुले अखिलको पुनर्गठन गरी फेडेरेसनलाई विस्थापित गरेका थिए र विद्यार्थी संगठनको क्रान्तिकारी धारालाई बचाएका थिए ।
२०४६ पछि बहुदलीय जनवाद नाम गरेको संशाधनवादले (विसर्जनवादले) अखिल कब्जा ग-यो तर क्रान्तिकारी कम्युनिष्टहरुले संशोधनवादले कव्जा गरेको अखिललाई पुनर्गठन गर्न सकेनन् । फलत: आज अखिल आन्दोलनको मुख्य शक्ति संशोधनवादको चाकरीदार संगठनको रुपामा पतन भएको छ र यो आफ्ना घोषित उद्देश्यबाट विमुख भएको मात्र हैन कमाउधन्दा चलाउने अनेकन विकृति र विसंगतिका संवाहक ,देशघातीका रक्षक,सत्ताको दलाल,जनविरोधी शिक्षा प्रणालीको पक्षपोषक , जनतन्त्र र जनजीविकाको विपक्षमा उभिने संगठनको रुपमा चित्रित हुन पुगेको छ ।
यसर्थ; अब फेरि कम्युनिष्ट क्रान्तिकारीहरुले २०२२ मा जसैगरी विद्यार्थी आन्दोलनलाई पुनर्गठन गर्न ढिला गर्न हुदैन ।

(कट्टेल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष हुनुहुन्छ ।)

Leave a Reply