ऋषि कट्टेल नेतृत्वको नेकपाले भदौ ३० नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने

ऋषि कट्टेल नेतृृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही भदौं ३० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । नेपाल कम्यु्निष्ट पार्टी औपचारिक रुपमा स्थापना भएको ७५ वर्ष प्रवेशको अवसरमा सो पार्टीले भदौ ३० गते विभिन्न कार्यक्रम गर्न लागेको बताइएको छ । सोही अवसरमा १५ सेप्टेबर-जिन्दावाद भन्दै उक्त पार्टीले अपील समेत जाारी गरेको छ ।

सो अपीलमा अगाडि भनिएको छ ।

नेपालको कम्युनिष्ट आन्दोलन निकै उतारचढाव,एकता, विभाजन,उग्रवाम तथा दक्षिणपन्थी अवसरवादसँग जुद्धै ७४ वर्ष पार गरेको छ । यसले संघर्ष ,वलिदान,विजय पराजय र गद्धारीका अनेकन खुडकिलाहरु पार गरेको छ । पार्टी स्थापनाका यी ७४ वर्षहरुमा कम्युनिष्ट आन्दोलनले नेपालको राष्ट्रिय स्वधिनताको रक्षा र नेपाली उत्पीडित जनताको मुक्तिको लागि निरन्तर चलाईरहेको संघर्षप्रति नेपाल कम्युनिष्ट पार्टी गौरव गर्दछ र यसक्रममा आफ्नो जीवन समेत समर्पण गर्ने महान शहीदहरुप्रति श्रद्धा र सम्मान व्यक्त गर्दछ । साथै पार्टी ७५औँ वर्षमा प्रवेस गरेको यस अवसरमा पार्टीका संस्थापक क.पुष्पलाललाई नेपाल कम्युनिष्ट पार्टी विशेष स्मरण र श्रद्धा व्यक्त गर्दछ । उहाँले विकास गर्नुभएको क्रान्तिकारी विचार र आदर्शको मार्गमा अविचलित रहन यसलाई अझै सम्बृद्ध गर्न र नेपाली जनक्रान्तिलाई विजय गराउन नेपाल कम्युनिष्ट पार्टीको झण्डामुनि गोलवन्द भएर सम्झौताहिन संघर्षमा जुटिरहन आम न्यायप्रेमी जनसमुदायलाई आह्वान गर्दछ ।
क्रान्तिकारी जनसमुदायहरु
नेपाल कम्युनिष्ट पार्टीको ईतिहास गौरवपूर्ण मात्र छैन , षडयन्त्र,गद्दारी र वेइमानिका अनेकन काला दागहरुले समेत यसको इतिहास पोतिएको छ । मात्रात्मक परिवर्तनका साथ बढेको नेपालको कम्युनिष्ट आन्दोलनमा अनेकन पटक यस्ता घटनाहरु भएका छन्, जसले कम्युनिष्ट आन्दोलन प्रति आम जनतामा प्रश्न खडा भएका छन् ।
 १) पार्टीको पहिलो सम्मेलनको लगत्तै पार्टीका संस्थापकलाई विनाकारण महासचिववाट हटाएर शुरु भएको षडयन्त्रले गद्धार माझीको प्रवेशलाई सहज मात्र गरेन ,सिङ्गो कम्युनिष्ट आन्दोलनलाई सामन्तवादको दलालीको सिकार समेत बनायो ।
२) राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम अगाडि सारेर पार्टीलाई क्रान्तिको बाटोवाट विमुख गराउने र संसदवादमा पतन गराउने षडयन्त्र गरियो ।
३) क.पुष्पलालले गोरखपुर सम्मेलन मार्फत सुरु गर्नु भएको पुनर्गठन अभियानलाई समेत कथित गद्धार पुष्पलालको आवरणमा यसमाथि हमला गरियो र पार्टी एकतालाई खण्डित गर्ने काम भयो ।
४) क.पुष्पलालको मृत्युको लगत्तै पार्टीको स्थापनाका बारेमै कृतिम विवाद खडा गरेर पार्टीको इतिहासलाई नै दिग्भ्रमित गर्ने र कम्युनिष्ट आन्दोलनमा निरन्तर विभाजनको रेखा कोरियो ।
५) २०४६ सालको संयुक्त जनआन्दोलनले सामन्ती निरंकुस निर्दलीय पञ्चायतलाई विस्थापित गरेको बहानामा नयाँजनवादी क्रान्तिको बाटो परित्याग गर्दैे कथित वहुदलीय जनवादको नाममा कम्युनिष्ट आन्दोलनलाई पूँजीवादमा पतन गराउने वेइमानी भयो ।
 ६) माओवादी सशस्त्र युद्ध र २०६२/०६३ को जनआन्दोलनले संविधान सभामार्फत जनसंविधान जारी गरेर जनक्रान्तिको कार्यभार पुरा गर्नु पर्ने बेलामा कम्युनिष्ट पार्टीकै नामको बहुमत भएको अवस्थामा समेत दलाल पूँजीवादको संरक्षण गर्ने संविधान जारी गरेर कम्युनिष्ट आन्दोलनलाई विसर्जनवादमा पतन गराउने वेइमानी गरियो ।
कम्युनिष्ट आनदोलन भित्र विकास भएका यस्ता क्रियाकलापहरुले नेपालको कम्युनिष्ट आन्दोलनले निर्माण गरेको गौरवपूर्ण संघर्षको ईतिहासलाई धुमिल मात्र गराएन ,जनताको मुक्तिको बाटो समेत अवरुद्ध ग-यो । जसले गर्दा कम्युनिष्ट आन्दोलनले गद्धारी ,षडयन्त्र र बेइमानीको इतिहासको भारी बोक्न बाध्य भयो ।
आदरणीय जनसमुदायहरु
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको यो ७५ वर्षको अवधिको मुल्याङ्कन गरी अघि बढ्नु पर्ने अवस्थामा पार्टीको स्थापना दिवसकै बारेमा पनि विवाद खडा गरिएको छ । यो अत्यन्त दुःखद विषय हो । पार्टीको दोस्रो पुनर्गठन भइरहेको बेला पार्टी इतिहासबारेको भ्रमबाट मुक्त हुन जरुरी छ । यस्ता विभाजनवादी चिन्तनवाट मुक्त भएर पार्टीको क्रान्तिकारी पुर्गठनको अभियानमा सरिक हुनु सबै क्रान्तिकारी कम्युनिष्टहरुको दायित्व हो । पार्टीको प्रथम सम्मलनदेखि तेस्रो माहाधिवेशनसम्मले एकमतले १५ सेप्टेम्वर १९४९ लाई पार्टी स्थापना दिवस मान्दै आयो । जब क. पुष्पलालको २०३५ मा मुत्यु भयो । त्यसपछि गद्धार पुष्पलालका लेखक मोहन विक्रम र पुष्पलाललाई प्रतिक्रियावादीको पुच्छरको संज्ञा दिदै हिडेको तत्कालीन मालेले २२ अप्रिललाई पार्टी स्थापना दिवसको रुपमा प्रचार गरेर कम्युनिष्ट आन्दोलनको इतिहासलाई भ्रमित गर्ने काम ग-यो । आजसम्म पनि यो आन्दोलनबाट विकास भएका कतिपय कार्यकर्ताहरु विना सोध नेपाल कम्युनिष्ट पार्टीको नाममा २२ अप्रिलको झण्डा बोकिरहेका छन् । सबैले के प्रष्ट बुझ्नु पर्दछ भने- २२ अप्रिलमा नेकपाको स्थापना गर्ने प्रारम्भिक काम गरिएको मात्र हो । १५ सेप्टेम्वरमा घोषणपत्र जारी गरी संगठन समिति घोषणा गरिएको र त्यस दिनलाई पार्टी स्थापनाको दिन मान्ने कुरा २०३५ सालसम्म सार्वजनिक भएका सबै दस्तावेजहरुले पुष्टि गरेका छन् । किन चौमको नाममा मोहन विक्रमले र मालेको नाममा सीपी मैनालीहरुले १५ सेप्टेम्वरलाई अस्वीकार गरे ? माले अर्थात सीपी मैनालीहरु त्यसबेला नेपाल कम्युनिष्ट पार्टीमा खासै भूमिका नभएका पात्रहरु भएकोले उनीहरु भ्रमित हुनुलाई त्यति अनौठो मान्न परेन तर मोहन विक्रम ,जो दोस्रो महाधिवेशनदेखि नै पार्टीको जिम्मेवारीमा थिए, उनैबाट इतिहासको यो अपव्याख्या हुनु चाहिँ रहस्यात्मक विषय हो । नेकपाको पुनर्गठन गरिरहदा यसबारे गम्भीर चिन्तन गर्नु जरुरी छ । इतिहासको गलत व्याख्या गर्नुको पछाडि मुख्यरुपमा निम्न पक्षहरु प्रभावी  देखिन्छन् ।
१) क.पुष्पलालको योगदानको अवमुल्यन गर्नु ।
२) कम्युनिष्ट आन्दोलनको इतिहासलाई दिग्भ्रमित गर्नु र अन्ततः यसको इतिहास मेटाउने दुस्चक्रमा फस्नु ।
३) विभाजन र फुटपरस्ततालाई वैधानिकताको लेप लगाएर यसको औचित्यपुष्टि गर्न प्रयास गर्नु र आन्दोलनलाई एकतावद्ध हुन नदिने आधारलाई जीवन्तता दिईरहनु ।

तथ्यहरुले के पुष्टि गर्दछन भने – १५ सेप्टेम्वरबारे विवाद सिर्जना गर्नु औचित्यहिन छ । विसर्जनवाद र विभाजन प्रभावी बनिरहेको बर्तमान अवस्थामा १५ सेप्टेम्वरको महत्व अझै बढेको छ । १५ सेप्टेम्वरको महत्व केवल पार्टी स्थापना दिवसको रुपमा मात्र हैन एकीकृत कम्युनिष्ट पार्टी पुनर्गठनको निम्ति यसको महत्व अझै व्यापक बनेको छ । क.पुष्पलाल र नेपाल कम्युनिष्ट पार्टी एक आर्काका पुरक हुन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना,यसको सिद्धान्तको निरुपण,संगठन,कार्यक्रम र क्रान्तिको कार्यदिशा निर्धारणमा क.पुष्पलालले महत्वपूर्ण योगदान दिनु भएको छ । क.पुष्पलाललाई बाहिर राखेर वा उहाँका विचारहरुलाई विस्थापित गरेर नेपाल कम्युनिष्ट पार्टीको जसरी सान्दर्भिकता रहदैन , त्यसैगरी १५ सेप्टेम्वरलाई विस्थापित गरेर पुष्पलालको सान्दर्भिकता रहदैन । पार्टी स्थापना बारे क.शम्भुराम भन्नुहुन्छ -“जसरी बच्चा जन्माउने आमाले भनेको जन्मदिन अस्वीकार गरेर जन्मेको बच्चाले आफ्नो जन्मदिन निर्धारण गर्नु हास्यास्पद हुन्छ, त्यसरीनै क.पुष्पलालले स्थापना गरेको र तीन तीनवटा महाधिवेसनले समेत निर्णय गरेको पार्टीको स्थापना दिवसको निर्धारण अरुले गर्नु त्यत्तिकै हास्यास्पद हुन्छ ।”
त्यसकारण नेपाल कम्युनिष्ट पार्टी सबै कम्युनिष्ट क्रान्तिकारीहरुलाई विगतले थोपरेको भ्रमबाट मुक्त हुन आग्रह गर्दछ । साथै यसैलाई आधार बनाएर कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न व्यवधान खडा गर्नु उचित हुदैन । २२ अप्रिल र १५ सेप्टेम्वर नेपाल कम्युनिष्ट पार्टी स्थापनाको निम्ति महत्वपूर्ण दिन हुन् । यो तथ्यलाई भने सबैले आत्मसाथ गर्नु पर्दछ । यस्ता अनुत्पादक भ्रमहरुवाट मुक्त भएर नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गगठन गर्ने महान अभियानमा लाग्न नेपाल कम्युनिष्ट पार्टी अपील गर्दछ ।
  आफ्नो ७५औ वर्षगाँठ अर्थात हिरक महोत्सव मनइरहेको नेपालको कम्युनिष्ट आन्दोलनले केही मात्रात्मक कार्यभार पूरा गर्दै आएको भएतापनि गुणात्मक अर्थात क्रान्तिमार्फत जनताको वर्गीय राज्यसत्ता निर्माणको महत्वपूर्ण कार्यभार पूरा गर्न सकेको छैन । कम्युनिष्ट पार्टीको काँधमा इतिहासले सुम्पेको यो कार्यभार बर्तमानको मुख्यकार्य बनेको छ । यसलाई पूरा गर्न निम्न अनुसार अगाडि बढन कम्युनिष्ट क्रान्तिकारीहरु र आम न्यायप्रेमी नेपाली जनसमुदायसँग नेपाल कम्युनिष्ट पार्टी आग्रह गर्दछ ।
१) बर्तमान राज्यसत्ता अर्थात सामन्ती, दलाल तथा नोकरशाही पूँजीवादी सत्तालाई ध्वंस गर्दै नयाँ जनवादी गणतन्त्र नेपालको स्थापना गर्न जनक्रान्ति संगठित गर्न ।
२) कम्युनिष्ट क्रान्तिकारीहरु विभाजित रहेको बर्तमान अवस्थामा संसदवाद विरुद्ध रहेका कम्युनिष्ट क्रान्तिकारी बीच रणनीतिक चरित्रको संयुक्त मोर्चा निर्माण गरेर संयुक्त जनक्रान्तिको कार्यदिशा अगाडि बढाउन ।
३) कम्युनिष्ट आन्दोलनमा विकास भएको विसर्जनवादलाई परास्त गर्न महान सैद्धान्तिक बहस चलाउन,विसर्जनवादको भ्रममा रहेका क्रान्तिकारी जनसमुदायलाई मुक्त गर्न र विभाजित कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न ।
४) राष्ट्रियता,जनतन्त्र र जनजीविकाको निम्ति बृहत संयुक्त जनआन्दोलन संगठित गर्दै वर्ग संघर्षको विकास गर्न ।
अन्त्यमा

  • १५ सेप्टेम्वर- जिन्दावाद
  • क.पुष्पलाल -अमर रहुन
  • आदरणीय शहीदहरु- लालसलाम
  • नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद
     
  • क्रान्तिकारी अभिवादन सहित
      नेपाल कम्युनिष्ट पार्टी
           केन्द्रीय समिति

हिरक महोत्सवका कार्यक्रमहरु
१) २०८० भाद्र ३० गते एक समारोह बीच जनसंघर्षको घोषणा
२) देशव्यापी भित्ते लेखन,पर्चा वितरण,सैद्धान्तिकबहसको लागि नयाँ जनवाद प्रकाशन तथा वितरण

३) आजको मार्क्सवाद,नेपालको कम्युनिष्ट आन्दोलनमा विसर्जनवादको प्रभाव एवं नेपाली जनक्रान्तिको कार्यदिशा जस्ता सैद्धान्तिक विषयहरुमा अन्तर्क्रया तथा गोष्ठिहरु
४) प्रदेश स्तरका विरोध सभा तथा सडक संघर्षहरु
५) जिल्ला र स्थानीयस्तरका विरोध सभा एवं सडक संघर्षहरु
६) संयुक्त संघर्षका कार्यक्रमहरु
७) पार्टीका स्थानीय तह र जनवर्गीय संगठनका भेला सम्मेलनहरु
८) जनपरिचालनका विशेष कार्यक्रमहरु

Leave a Reply