भक्तपुर जिल्ला बचत संघको २१औं बार्षिक साधारण सभा सम्पन्न, हरि बल्ल अध्यक्ष चयन

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१औं बार्षिक साधारण सभा भक्तपुर बैंक्वेट भक्तपुरमा २०८२ साल कार्तिक २९ गते शनिबार सम्पन्न भयो ।

साधारण सभाको उद्घाटन गर्नुभएका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष चन्द्रप्रसाद ढकालले बर्तमान अवस्थामा सहकारी संघ संस्थाको अवसर र चुनौती विषयमा सहकारी शिक्षा प्रदान गर्नुभयो । उहाँले सहकारी संघ संस्थाहरुले सुशासन कायम गरेमा सहकारीका धेरै समस्याहरु समाधान हुने बताउनुभयोे । उहाँले प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाले कारोबार गर्न बचत तथा ऋण सहकारी संघ आबश्यकता रहेको स्पष्ट पार्नुभयो । “बचत तथा ऋण सहकारीमा शुद्धिकरण आवश्यक रहेको तर कारोबार नै गर्न नदिने गरी नियन्त्रण गर्न मिल्दैन”, उहाँको भनाई थियो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो । त्यस अवसरमा उहाँले “सहकारीको विकल्प सहकारी नै हो, सहकारीको विकल्प कुनै बैंङ्क तथा वित्तीय संस्था हुन सक्दैन”, भन्नुभयो । उहाँले समुदाय केन्द्रित र सहकारी मुल्य मान्यता र सिद्धान्त बमोजिम सञ्चालित सहकारी सङ्घ संस्थाहरुमा परिस्थितिवश केही समस्या भएतापनि जटिल समस्या नरहेको बताउनुभयो । उहाँले विषम परिस्थितिमा सदस्य तथा समाजमा सेवा पु-याइरहेका सहकारी सङ्घ संस्थाहरुलाई संकुचनमा ल्याउन र जिल्ला बचत सङ्घ लगायत सहकारी सङघहरुलाई आफ्नो सदस्य संस्थाहरुबीचको वित्तीय कारोवारलाई रोक लगाउने खालका मापदण्ड र निर्देशनहरु जारी भएकोमा विरोध जनाउदै आएको बताउनुभयो ।
उक्त संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले सो संघ स्थापनाको चर्चा गर्दै संघ स्थापनाको मर्म बमोजिम संघले कार्य गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो ।

सोही संघका उपाध्यक्ष हरिकृष्ण बल्लले स्वागत मन्तव्य व्यक्त नियमनकारी निकायको बहु निर्देशनको चपेटामा सहकारी संघ संस्थाहरु रहेको बताउनुभयो ।
साधारण सभामा त्यसै संघका सचिव जगनाथ प्रजापतिले संघको बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै लामो समयदेखि स्वायतता र स्वनियमको नाममा एकलौटी व्यवसाय झैं सञ्चालन गरिरहेका सहकारीका सञ्चालकहरूले जनताको निक्षेप फिर्ता नदिई भाग्ने प्रवृति अझै रोक्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सहकारी अभियानमा देखापरेका विकृति र विसंगति रोक्न आफैवाट शुरु गर्नु पर्ने आवश्यकता औल्याउनुभयोे । उहाँले जनताको पैसा निक्षेप फिर्ता नदिई भाग्ने सञ्चालक तथा कर्मचारीहरुलाई कुनै पनि राजनैतिक दवाव र प्रभावमा नपारी हदैसम्मको कारबाही गर्नु पर्ने विचार व्यक्त गर्नुभयो । उहाँले प्रस्तुत गरेको संघको आ.व.२०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र आ.व. २०८२/०८३ मा रु.२८ लाखको प्रस्तावित कार्यक्रमहरु साधारण सभाले पारित गरेको थियो ।

यसैगरी साधारण सभामा सो संघका कोषाध्यक्ष कान्छभक्त घजुले संघको आर्थिक प्रगति प्रदिवेदन पेश गर्दै बचत तथा ऋण सहकारीमा बचत तथा ऋणको सन्तुलन कायम गर्न चुनौती बढेको बताउनुभयो । उहाँले सहकारी संघ संस्थामा तरलता बढदै गएको तर ऋण मागको कमिका कारण ऋण लगानी घट्दै जाने अवस्थाले सहकारी सञ्चालनमा सकस थप्दै गएको बताउनुभयो । उहाँले पेश गरेको आ.व.२०८१/०८२ को वासलात रु.तीन अर्ब बाह्र करोड, आय रु. एक करोड सात लाख सहितको आर्थिक प्रगति प्रतिवेदन र आ.व.२०८२/०८३ को वासलात रु तीन अर्ब पन्ध्र करोडको अनुमानित बजेट साधारण सभाले पारित गरेको थियो ।

साधारण सभामा उक्त संघका लेखा सुपरीवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले संघको आ.व. २०८१/०८२ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्दै मौजुदा सहकारी ऐन, कानुन र निर्देशनका आधारमा संघको कारोबारलाई सिमिततामा ल्याउँदा अझ घट्ने भएकोले संघ सवलिकरणका कार्यक्रम तथा योजना ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

साधारण सभाले शेयर लाभांश कोषबाट ४.६ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारण सभालृ सहकारी ऐन नियमावली अनुसार संरक्षित पुँजी फिर्ता कोष फिर्ता गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभामा २०३ सदस्य संस्थामध्येबाट १७७ जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सञ्चालक समितिको अध्यक्षमा हरिकृष्ण बल्ल र लेखा सुपरीवेक्षण समिति संयोजकमा दामोदर न्यौपाने चयन


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सो साधारणबाट हरिकृष्ण बल्लको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र दामोदर न्यौपानेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।

४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्षमा जगनाथ प्रजापति, सचिवमा कान्छाभक्त घजु, कोषाध्यक्षमा कृष्णश्वरी प्रजापति र सदस्यमा इन्द्रप्रसाद व्याञ्जु, चण्डिका छुका, सुशिला पराजुली बराल, राजकुमार लघु र विवेक श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी लेखा सुपरीवेक्षण समिति सदस्यमा गीताप्रसाद नेपाल र प्रतिभा अदुवा श्रेष्ठ हुनुहुन्छ ।







Leave a Reply

Your email address will not be published. Required fields are marked *