चुनाव नजिकिएसँगै उम्मेद्वारहरु मत माग्न व्यस्त

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जादा उम्मेद्वारहरु घरदैलोमा पुगेर विभिन्न आश्वासन बाडेर जनतासँग मत मागिरहेका छन् । उनीहरु आफू चुनावमा विजयी भएमा आफूले गर्ने कार्यको जनतासँग प्रतिबद्धता पनि गरिरहेका छन् । बिगतका चुनावमा बेला मत पाउन गर्ने सकिने र गर्न नसकिने आश्वासन जनतालाई बाढ्ने तर चुनाव जितेर गएपछि सिन्को पनि नभाच्ने र जनताले खोजेको बेला आफूले चुनेका जनप्रतिनिधि नभेटिने जस्ता प्रवृत्ति भोगेका मतदाताहरु यस पटक पनि फेरि उम्मेद्वारहरुका त्यस्तै आश्वासन सुन्नु पर्दा ढाँटको निम्तो खाई पत्याउनु भन्दै व्यङ्ग्य गरिरहेका छन् । यही कारण कतिपय ठाउँहरुमा जनताको विश्वास जित्न त उम्मेद्वारहरु र तिनका समर्थकले खेतबारीमा पुगेर धान काटी दिने र कोदो टिपी दिने जस्ता कार्य गरेको समाचार पनि आइरहेका छन् ।

सांसद र प्रदेश सभा सदस्यले कानुन बनाउने हो कि विकास गर्ने हो ?

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एक कार्यक्रममा बोल्दै प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारहरु यो गर्छु र त्यो गर्छु भनेर विकास निर्माणका कुरा गरेर मत मागिरहेको भन्दै सांसद र प्रदेश सभा सदस्यले नीति र कानुन बनाउने हो कि विकास निर्माण गर्ने हो भनी प्रश्न गर्नु भएको छ । उहाँको यो भनाईले सांसद र प्रदेश सभा सदस्यको मुख्य कार्य के हो भन्ने विषय इंगित गरेको देखिएको छ । पञ्चायत कालदेखि यसबेलासम्म भएका राष्ट्रिय पञ्चायतको चुनाव होस् या संवैधानिक राजतन्त्र सहितको संसदको चुनाव होस् या संविधान सभा र त्यसबाट निर्माण भएको संविधानमा व्यवस्था भएका संघीय संसद र प्रदेश सभाको निर्वाचन होस् , यी सबै निर्वाचनमा खडा भएका उम्मेद्वारले कस्तो नीति , कार्यक्रम र ऐन बनाउने भनेर मत मागेको देखिदैन । बरु उनीहरु यो गर्छु र त्यो गरछु भनेर विकास निर्माणका कुरामै सिमित भएर मत मागिरहेका छन् । यसलाई नियालेका कतिपय जानकारहरु भने पञ्चायत गयो , राजतन्त्र गयो तर राष्ट्रिय पञ्चायत सदस्यले जस्तै सांसद र मन्त्रीले विकास ल्याउछ भन्ने पुरानो मान्यता भने यसबेलासम्म कायमै रहेकोले राम्रो नीति र ऐन निर्माण गर्न सक्ने जनप्रतिनिधि चुनिन सक्ने अवस्था यस बेलासम्म निर्माण हुन नसकेको बताउछन् ।

Leave a Reply