नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल आज साझ रिहा हुनुभएको छ । आज बसेको सर्वोच्च अदालतका न्यायधीशद्वय हरि फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजालासले उहाँलाई रिहा गर्ने आदेश जारी गरे बमोजिम सर्वोच्च अदालतका सह-रजिष्टार अर्जुनप्रसाद कोइरालाको रोहबरमा रिहा गरिएको बताइएको छ ।

अधिवक्ता रुपेश कट्टेलले उहाँलाई विना कारण गैरकानूनी ढंगबाट प्रहरीले पक्राउ गरि थुनामा राखेकोले रिहा गर्न माग गरी गएको शुक्रबार सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु फडिन्द्र कार्की, कृष्ण शर्मा , रुपेश कट्टेल ,धर्मराज रेग्मी लगायतले बहस गर्दै उहाँलाई विना कारण गैर-कानूनी रुपमा थुनामा राखेकाले अविलम्व रिहा गर्न माग दावी गर्नुभएको थियो । यसैगरी सो रिटमामाथि बहस गर्दै महान्यायधिवक्ता कार्यालयका वकीलले उहाँ समेत सम्लग्न रही गत पुस १९ गते ६ दलले यही फाल्गुण २१ गते हुने प्रतिनिधि सभाको बहिस्कार गर्ने भनी प्रेस विज्ञप्ति जारी गरि कानून उलङ्गन गर्ने कार्य गरेकोले पक्राउ गरि थुनामा राख्नु परेको जिकिर गरेका थिए ।
अध्यक्ष कट्टेललाई यही फाल्गुण ६ गते बुधबार काठमाडौंको कीर्तिपुर नगरपालिका-२, मैत्रिनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयबाट प्रहरीले गिरफ्तार गरि भद्रकालीस्थित काठमाडौं जिल्ला प्रहरी परिसरमा थुनामा राखेको थियो ।





