सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई २४ घण्टा भित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश गरेको छ । आज बसेको सर्वोच्च अदालतका न्यायधीश टेकप्रसाद ढुंगानाको एकल इजालासले अध्यक्ष कट्टेललाई २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन नेपाल प्रहरीलाई आदेश गरेको बताइएको छ । रिट निवेदकको तर्फबाट आज बरिष्ठ अधिवक्ता रमेश बडाल लगायतले बहस गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई प्रहरीले विना कारण गिरफ्तार गरेकोले रिहाईको माग गरी अधिवक्ता रुपेश कट्टेलले गएको शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
यही फाल्गुण ६ गते अध्यक्ष कट्टेललाई काठमाडौंको कीर्तिपुर नगरपालिका-२,मैत्रिनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयबाट प्रहरीले गिरफ्तार गरि काठमाडौ जिल्ला प्रहरी परिसर भद्रकालीमा हिरासतमा राखेको छ । उहाको गिरफ्तारीको नेपाल कम्युनिष्ट पार्टी तथा सो पार्टी सम्मिलित केन्द्रीय संघर्ष समिति, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (बहुमत) र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल लगायतले विरोध गरेका छन् ।





