४१औँ वी.पी.स्मृति दिवसको अवसरमा इनरुवामा वी.पी. कोइरालाको शालिक उद्घाटन

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं साहित्यकार वी.पी. कोइरालाको ४१औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । यसै सन्दर्भमा शनिबार सुनसरी जिल्ला सदरमुकाम इनरुवामा उहाँको पूर्णकदको शालिक नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । इनरुवा नगरपालिका-१५ मा रु.१५ लाख लागतमा सो शालिक निर्माण भएको बताइएको छ ।

राजनीति र साहित्यमा वी.पी.को उस्तै उचाइ

आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी बताउने नेपाली प्रजातान्त्रिक आन्दोलनका नेता वी.पी. कोइरालाको २०३९ साउन ६ गते पेटको अर्बुद (क्यान्सर) रोगको उपचारको क्रममा निधन भएको थियो । राजनीतिमा वी.पी. कोइराला र साहित्यमा विश्वेेश्वरप्रसाद कोइरालाको नामले परिचित उहाँको नेपाली राजनीति र साहित्यमा उस्तै उचाइ रहेको जानकारहरु बताउछन् । नेपाली कांग्रेसक‍ो लामो समय नेतृत्व गरेका वी.पी. कोइराला प्रधानमन्त्री भएको समयमा नेपाल र चीन बीचको सीमा विवाद हल भएको बताइन्छ तर त्यसैबेला गण्डक सम्झौता भएकोले उहाँलाई गण्डक बेचेको आरोप लाग्ने गरेको छ ।

वि.सं.२००७ सालको परिवर्तनमा महत्वपूर्ण योगदान गरेका कोइराला त्यस लगत्तै बनेको म‍ोहन शमशेर नेतृत्वको सरकारमा गृह मन्त्री बन्नुभएको थियो भने वि.सं.२०१५ सालमा सम्पन्न संसदीय निर्वाचनपछि बनेको नेपाली कांग्रेसको दुईतिहाई बहुमतको सरकारको नेतृत्व गरेर उहाँ प्रधानमन्त्री बन्नुभएको थियो । आफू प्रधानमन्त्री भएको समयमा उहाँ नेतृत्वको सरकारले बिर्ता उन्मुलन जस्ता केही सम्झनलायक काम गरेको ईतिहासका कतिपय जानकारको भनाइ छ ।

उतारचढावका साथ जीवन बिताएका कोइरालाले राजनीतिकै कारण लामो समयसम्म कहिले कारागार त कहिले भारत प्रवासमा रहनु परेको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपालको रक्षा र परराष्ट्र मामिलाको जिम्मेवारी भारतलाई दिनुहोस् , हामी तपाईलाई आजीवन नेपालको प्रधानमन्त्री बनाइदिन्छौँ भनी राखेको प्रस्ताव वी.पी. कोइरालाले नमानेकाले उहाँमाथि भारतले दमन गरेपछि राष्ट्रिय मेलमिलापको नीति लिएर उहाँ आफ्ना सहकर्मी सहित २०३३ पुस १७ गते भारत प्रवासबाट स्वदेश फर्किएको प्राध्यापन पेशामा समेत रहेका पत्रकार जगत नेपालले आफ्नो पुस्तक वी.पी.विद्रोहमा उल्लेख गरेका छन् ।

हिन्दी भाषामा फुटकर कविता लेखेर साहित्यम सृजनातर्फ लागेका बी.पी. कोइरालाले नेपाली साहित्यमा मनोवैज्ञानिक धारलाई मजवुत बनाउन प्रयत्न गरेको देखिन्छ । उहाँको विशेषत: कथा र उपन्यास विधामा आफ्नो कलम शसक्त रुपमा चलेको साहित्यिक क्षेत्रका अध्येताहरु बताउछन् । चन्द्रवदन कथा लेखेर नेपाली साहित्यको यात्रा आरम्भ गरेका उहाँका ६ वटा उपन्यास , २ वटा कथासंग्रह , आफ्नो कथा, आत्मबृतान्त , जेलजर्नल तथा फुटकर लेखरचना प्रकाशित छन् ।

Leave a Reply