भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप-समितिको आयोजनामा भएको बासुरी बाजा प्रशिक्षण समापन तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम २०७२ फाल्गुण २ गते भक्तपुर नगरपालिकाको साविक १५ वडाका पूर्व वडा अध्यक्ष रविन्द्र खर्वुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि खर्वुजाले भक्तपुर नगरको हरेक टोल समुदायको छुटाछुटै सांस्कृतिक तवरमा पहिचान रहेको बताउनुभयो । उहाले भक्तपुर नगरमा पूर्खाले सिर्जेको कला र सांस्कृतिक बाजागाजा र पुराना पुख्यौली नित्यसंस्कृतिहरुलाई जर्गेर्ना गर्दै लैजानुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले हामीले हाम्रा सन्ततिहरुलाई पढाइका अलावा अतिरिक्त क्रियाकलापहरुमा पनि उतिकै सक्रिय सहभागी गराउनु पर्ने खाँचो औल्याउनुभयो । नयाँ पुस्तालाई सांस्कृतिक बाजागाजाहरु सिकाउने एउटा थलोका रुपमा संस्थाले कार्य गर्दै आएकोमा खुसी व्यक्त गर्दै उहाँले सहकारी संस्थाहरुबाट यस्ता गतिविधिहरु निरन्तर गर्दै लैजानुपर्ने विचार व्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रमाा मन्तव्य व्यक्त गर्दै लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजन जतिले हाम्रो यस संस्थाबाट सदस्यहरुलाई सांस्कृतिक नृत्य, धिमे बाजा, धां बाजा र बासुरी बाजा लगायत धेरै बाजागाजाहरुको प्रशिक्षण पूरा गरी उक्त क्षेत्रमा उत्कृष्ट बनाउदै संस्थालाई समुदायमा छुटै पहिचान बनाउन सफल भएको जानकारी दिनुभयो । उहाँले संस्थाबाट स्थापनाकालदेखि सदस्यहरुलाई सक्षम बनाउन विभिन्न सीपमूलक तालिम, प्रशिक्षण र समुदायमा आधारित कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा बताउनुभयो ।
कार्यक्रममा उक्त बासुरी बाजा प्रशिक्षणका प्रशिक्षक रभिम कपालीले हामीले हाम्रा सम्पूर्ण कला र सांस्कृतिलाई जीवन्त तुल्याउनु पर्नेमा जोड दिदै प्रशिक्षार्थीहरुले छोटो समयमा नै उत्कृष्ट रुपमा प्रशिक्षित हुन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप-समितिकी संयोजक कमलश्वरी खर्वुजाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा २४ जना प्रशिक्षार्थीहरुलाई बासुरी बाजा प्रशिक्षित भएको प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट रिसिका त्वायना र एकेन स्वंगमिखाले प्रशिक्षण अनुभव बताउनुभएको थियो भने कार्यक्रम आयोजक रहेको सो सांस्कृतिक उप-समितिका सदस्य दिलप्रसाद सुवाल र प्रशिक्षार्थीका अभिभावक मञ्जुमाया लाखाजुले पनि आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।





