- शंकरप्रसाद आचार्य, प्रबन्धक , नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि.,कपन, काठमाडौं
सहकारीको सिद्धान्त, नीति, मुल्य र मान्यतालाई आत्मसात गरि समुदायमा आधारित रहेका सहकारी संस्थाहरुमा बचत फिर्ताको समस्या छैन । सहकारीको साइनबोर्ड झुण्ड्याएर अर्थोकै काम गरेका केही सहकारी संस्थामा बचत फिर्ताको समस्या देखिएको हो । यो संख्या साह्रै सानो छ तर यसलाई देखाएर अनर्गल प्रचार गरी सिंगो सहकारी अभियानमाथि हिलो छ्याप्ने कार्य निन्दनीय छ । जुनजुन सहकारी संस्थामा सदस्यको बचत फिर्ताको समस्या छ , त्यो समस्या सरकार र सरोकारवालाहरुले मिलेर जतिसक्तो चाडो समाधान गर्नु राम्रो हुन्छ ।
नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि. जस्ता सहकारीको सिद्धान, नीति, मूल्य र मान्यतालाई आत्मसात गरेर समुदायमा आधारित भई सञ्चालन भइरहेका सहकारी संस्थाहरुमा सदस्यहरुको विश्वास बढेकैले बचत थुप्रिएको छ तर यस्ता सहकारी संस्थाहरुमा बचतको तुलनामा ऋणको माग धेरै कम हुदा तरलता व्यवस्थापनमा समस्या भइरहेको छ भने यस्ता प्रकृतिका सहकारी संस्थामा केही सदस्यबाट ऋण असुलीमा समेत समस्या भएको छ । नेपाल सरकारले सहकारीको कर्जा असुलीको समस्या निवारणको लागि भनेर सहकारी कर्जा असुली न्यायधीकरण गठन गरेको छ । नेपाल सरकारको यो कार्य सकारात्मक छ । यो कर्जा असुली न्यायधीकरणले कसरी कार्य गर्छ , त्यो हेर्न बाँकी छ ।
सरकारले सहकारीबाट लिएको ऋण शर्त अनुरुप समयमा भुक्तानी नगर्ने ऋणी सदस्य र निजको परिवारलाई सहकारी संस्थाको ऋण नतिर्दासम्म सम्बन्धित वडा कार्यालयबाट प्रदान गरिने सिफारिस सहित राज्यबाट प्रदान गरिने सेवा सुबिधाबाट बञ्चित गरिनुपर्छ । सरकारले यसो गरेमा सहकारीको ऋण असुलीको समस्या धेरै हदसम्म समाधान हुनसक्छ र ऋण असुलीकालागि सहकारी संस्थाले कसैलाई गुहार्न नपर्ला कि !





