हस्तकला व्यवसाय मात्रै नभइ राष्ट्रको समग्र पहिचान हो : जम्मरकट्टेल

बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकरा जम्मरकट्टेलले हस्तकला व्यवसाय मात्र नभई नेपालको सम्पदा ,कला, संस्कृति, रीतिरिवाज, धर्म लगायत राष्ट्रकै समग्र पहिचान भएको बताउदै बागमती प्रदेश सरकारको तर्फबाट अविलम्ब हस्तकला ऐन पारित गर्न प्राथमिकता दिने प्रबिद्धता व्यक्त गर्नुभयो । नेपाल हस्तकला महासंघद्वारा बागमती प्रदेश सरकारका मुख्यमन्त्री , मन्त्रीहरु र बागमती प्रदेश सभा सदस्यहरुको सम्मानमा यही श्रावण ५ गते नेपाल हस्तकला महासंघको सचिवालयमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उहाँले सरकार परिवर्तन भएपनि सरकारको आधारभूत नीति परिवर्तन हुन नहुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बागमती प्रदेश सरकारका मुख्यमन्त्री जयू, मन्त्री ज्यूहरु र बागमती प्रदेश सभाका बर्तमान र पूर्व सदस्य ज्यूहरु लगायतलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउदै बागमती प्रदेशमा ८० प्रतिशतभन्दा बढी हस्तकलाहरु विद्यमान रहेको जानकारी दिनुभयो । उहाँले विगत वर्षदेखि हस्तकला क्षेत्रको प्रभावकारी विकासका लागि हस्तकलाग्राम स्थापनाका लागि आवश्यक नीति नियमहरुको तर्जुमा गरी अध्यादेशमार्फत हस्तकला ऐन पारित गर्न पहल गर्दै आएको भन्दै यसको पूर्णताका लागि सररकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण सम्पन्न भइसकेको जानकारी गराउँदै समग्र हस्तकलाको विकासका लागि यो केन्द्रको सञ्चालनार्थ यस महासंघलाई हस्तान्तरण गर्न समेत बागमती प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उहाँले बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा विभागीय मन्त्रीहरु र बागमती प्रदेश सभा सदस्यहरुलाई नेपाल हस्तकला महासंघको परिचय, यसमा आवद्ध सदस्यहरुको वस्तुस्थिति, प्रमुख सेवा तथा कार्य, नेपाली हस्तकला वस्तुहरुको सूची, हस्तकला क्षेत्रको विकास तथा प्रबर्द्धनमा भएका नीतिगत पैरवी, विद्यमान समस्याहरु र भावी योजना तथा कार्यक्रमको बारेमा जानकारी समेत दिनुभयो ।

उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह तामाङले हस्तकलाको मोल नहुने बताउँदै यसलाई उपभोक्ताहरुले भवन, क्वार्टर आदि बनाउँदा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटनपछि महत्वपूर्ण रहेको व्यवसाय हस्तकला रहेको भन्दै उहाँले हस्तकला ऐन चाँडो पारित गरी हस्तकला क्षेत्रको प्रभावकारी विकासको वातावरण बनाउन बागमती सरकारको तर्फबाट सक्दोसहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बागमती प्रदेश सरकारका विना विभागीय मन्त्री रामकृष्ण चित्रकारले हस्तकला नेपालको मौलिक पहिचान भएको र यो संस्कृति र सम्पदासँग जोडिनुका साथै बागमती प्रदेशको महत्वपूर्ण आर्थिक मेरुदण्ड भएकोले कुरामा मात्र सीमित नराखी यस क्षेत्रको विकासको लागि नीति बनाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो । यसैगरि कार्यक्रममा बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले आउने दिनमा हस्तकला उद्योग व्यवसायलाई परिस्कृत रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै यसका लागि वातवरण अनुकूल बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभाका पूर्व सदस्य माधव पौडेलले नेपालको अर्थतन्त्रमा हस्तकला क्षेत्रको महत्व र
योगदानबारे चर्चा गर्नुहुँदै हस्तकलाको विकासलाई प्राथमिकतामा पार्न अविलम्ब हस्तकला ऐन पारित
गर्न र ७ वटै प्रदेशमा हस्तकला ग्राम स्थापनाको कार्य अघि बढाउनु पर्नेमा जोड दिनुभयो । सोही अवसरमा बागमती प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यले हस्तकला क्षेत्रमा आफ्नो १२ वर्षे कार्य अनुभव बारे जानकारी गराउँदै हस्तकला युवा वर्गलाई स्वरोजगार र आय आर्जनको प्रमुख श्रोत हुने हुँदा हस्तकला ऐन चाँडो पारित गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले धन्यवाद ज्ञापन गर्दै हस्तकला क्षेत्रको दिगो विकास र प्रवर्द्धनमा प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु र बागमती प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई सोही महासंघका बर्तमान अध्यक्षले टीका लगाई, नि:वर्तमान अध्यक्षले फुलको माला र वरिष्ठ उपाध्यक्षले मफलर पहि-याई स्वागत गर्नुभयो भने उहाँहरुलाई नेपाली परम्परा र संस्कृति अनुरुप सोही महासंघका उपाध्यक्ष दिव्यतारा तुलाधरलेदही अण्डा र माछा सहित सगुन दिनुभयो ।

नेपाली हस्तकला उद्योग, व्यवसाय तथा निकासी प्रबद्र्धनका लागि नेपाल हस्तकला महासंघले स्थापनाकालदेखि विभिन्न कार्यहरु सम्पादन गर्दै आएको छ । यस क्रममा सो महासंघले हस्तकला उद्यमी व्यवसायी तथा कलाकारहरुको हित प्रबद्र्धनका साथै संस्थागत विकासको समेत पहल हुँदै आएको छ । विभिन्न सरकारी, गैयर सरकारी तथा निजी संघ संस्थासँग सम्पर्क र सम्बन्ध विकास गरी समग्र हस्तकला क्षेत्रको प्रभावकारी विकासका लागि आवश्यक पहल पैरवी गर्दै आएको छ ।

Leave a Reply