११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लि.को नारी , बालबालिका तथा जेष्ठ नागरिक विकास उपसमितिको आयोजनामा यही फाल्गुण ९ गत मंगलबार चित्रपुर आधारभूत विद्यालय , चित्रपुरमा स्वास्थ्य शिवीर सम्पन्न भयो ।





भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१, लोहकिल्थली(नरे फाँट) स्थित वी.पी. नेत्र प्रतिष्ठानको प्राविधिक सहयोग रहेको उक्त स्वास्थ्य शिवीरमा नाक, कान , घाटी र आँखाको नि:शुल्क चाँच गर्नुका साथै विरामीहरुलाई नि:शुल्क औषधि वितरण गरिएको थियो । खुल्ला रुपमा सञ्चालन भएको सो शिवीरमा ३०० जनाले स्वास्थ्य सेवाको लाभ लिनुभएको आयोजक जनता बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजेशकुमार राजथलाले बताउनुभयो ।
यसैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको सो संस्थाको १५औं स्थापना दिवस र चर्खु प्रकाशन समूहकै २०औं स्थापना दिवसको उपलक्ष्यमा ती दुवै संस्थाको संयुक्त आयोजनामा गत माघ २१ गते शनिबार चित्रपुर गणेश मन्दिर प्राङ्गडमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।






नेपाल रेडक्रस सोसाइटी, भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न त्यस रक्तदान कार्यक्रममा ४० जना भन्दा बढी रक्तदाताले रक्तदान गरेको आयोजकको भनाई छ ।
स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यो संस्थाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ । ‘सहकारीका नियामक निकायहरुले बेलाबेलामा जारी गरेका निर्देशनहरु तथा सहकारीको नीति , सिद्धान्त , ऐन र नियमलाई पालना गरी सञ्चालन भइरहेको हाम्रो यो संस्थामा तरलताको अवस्था ठीक छ ‘, सोही संस्थाका व्यवस्थापक रेशमान राजथलाको भनाई छ ।






