सहकारीको बारेमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ

  • जगन्नाथ चालिसे, व्यवस्थापक , सहभाव साकोस , बेसीगाउँ

जगन्नाथ चालिसे युवा सहकारी अभियानकर्मी हुनुहुन्छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८, बेशीगाउँमा रहेको सहभाव बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक चालिसेसँग अलगपथका प्रतिनिधिले सहकारी क्षेत्रका विषयमा छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।

१. यतिबेला के मा व्यस्त हुनुहुन्छ ?

~ म यस सहभाव बचत तथा ऋण सहकारी संस्था लि.को काममा छु ।

२. सहकारी क्षेत्र समस्यामा छ भन्ने सुनिन्छ । तपाईहरुको सहभाव साकोसमा चाहिँ वित्तीय अवस्था कस्तो छ ?

~ हाम्रो यस सहभाव बचत तथा ऋण सहकारी संस्था लि.मा वित्तीय अवस्था राम्रो छ । हाम्रो संस्थामा मात्रै होइन , सहकारीको सिद्धान्त, मुल्य र मान्यतालाई आत्मसाथ गरी समुदायमा आधारित रहेर सञ्चालन भएका अरु सहकारी संस्थाहरुमा पनि तरलताको समस्या नरहेको सहकारी अभियानमा रहेका साथीहरु बताउछन् । जुन-जुन संस्थामा समस्या देखिएको छ , ती संस्थाले बचतमा बढी व्याजको लोभ देखाएर सदस्यहरुबाट पैसा संकलन गर्ने र त्यो संकलन भएको रकम निश्चित व्यक्तिहरुले मिलेर आफ्नो स्वार्थ अनुरुप लगानी गरेको सुनिएको छ । त्यसो हुनुमा नियामक निकायले सहकारी संस्थाहरुमा राम्रोसँग अनुगमन गरी पुरस्कार र दण्डको नीतिलाई कार्यान्वयन गर्न नसक्नु नै यसको मुख्य कारण हो । एकाध सहकारी संस्था सञ्चालकले गरेको बद्मासीले राम्रोसँग सञ्चालन भएका हाम्रो जस्तो सहकारी संस्थाहरु पनि बद्नाम हुनु परेको छ । यो साह्रै दु:खद कुरा हो । नियामक निकाय र सहकारी अभियान मिलेर सहकारी क्षेत्रलाई थप मर्यादित बनाउन लाग्नु परो ।

सहकारी क्षेत्रमा केही समस्या अवश्य छन् तर सहकारीमा वित्तीय समस्या आयो भनेर बाहिर हल्ला भए जस्तो वित्तीय समस्या भने सहकारीमा छैन । हामी जो कोही पनि हल्लाको पछि लाग्नुको साटो यथार्थ बुझ्ने तिर लाग्नु राम्रो हुन्छ ।

३. सहभाव साकोसको गतिविधि के छ ?

~ हाम्रो यस सहभाव बचत तथा ऋण सहकारी संस्था लि.को नियमित कार्य सञ्चालन भइरहेको छ । आउदो पुस २३ गते यस संस्थाको ११औं वार्षिक साधारण सभा हुदैछ ।

४. सहभाव साकोसमा तरलता अवस्था कस्तो छ ?

~ सहकारी सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस सहभाव बचत तथा ऋण सहकारी संस्था लि.मा तरलता पर्याप्त छ । गोकर्णेश्वर नगरपालिका , काठमाडौं महानगरपालिका वडा नं.६ र कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ मा कार्यक्षेत्र रहेको यस संस्थामा १ हजार ८ सय शेयर सदस्य , रु.१ करोड ९० लाख शेयर पूँजी , रु.१५ करोड बचत संकलन , रु.१४ करोड कर्जा लगानी र रु.१८ करोड कूल कारोवार रहेको छ ।

५. अन्तमा केही भन्नु छ की ?

~ सरकारले सहकारी ऐन, २०७४ र सहकारी नियमावली , २०७५ मा उल्लेख भएको सहकारी कर्जा सूचना केन्द्र स्थापना , सहकारी कर्जा असुली न्यायधीकरण गठन , सहकारी सुरक्षण कोष र सहकारीका खराव ऋणीलाई कालो सूचीमा राख्ने व्यवस्था कार्यान्यन गर्नुपरो । नियामक निकायले सहकारी संस्थाको अनुगमनलाई प्रभावकारी बनाई सहकारी क्षेत्रमा पुरस्कार र दण्डको नीति कार्यान्वयन गर्नु परो । सहकारी संघहरुले सहकारी संस्थाहरुमा सहकारी शिक्षा/ तालिम राम्रोसँग सञ्चालन गर्नुपरो र सहकारीका बारे भइरहेका अनर्गल प्रचारको तथ्यले खण्डन गरी सहकारीको बारेमा सकारात्मक सन्देश प्रवाह गरी सहकारीलाई जोगाउनु परो ।

Leave a Reply