प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले संविधानले व्यवस्था गरे बमोजिम आफूले इमान्दारीपूर्वक उपसभामुखको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आजको प्रतिनिधि सभाको बैठकबाट १६६ मत प्राप्त गरी उपसभामुख पदमा निर्वाचित भएपछि रानाले सञ्चारकर्मीहरुसँग छोटो कुरा गर्दै आफूले तटस्थ रहेर कार्य बताउनुभयो ।
रास्वपाकी सांसद सोविता गौतमले सोही पार्टीकी सांसद इन्दिरा राना मगरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधि सभाको बैठकले बहुमतबाट अनुमोदन गरेको थियो । नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा (माके)का सांसद नारायण शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गर्नु भएको सो प्रस्तावको पक्षमा नेकपा (एमाले), नेकपा (माके), रास्वपा , राप्रपा र जसपाका सांसदले मतदान गरेका थिए ।
यता नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ९७ मत परेको बताइएको छ । यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एस)का सांसद मेटमणि चौधरी र लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्ले समर्थन गर्नुभएको थियो ।
सभामुख देवराज घिमिरेले पहिला रास्वपाकी इन्दिरा राना मगरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाको बैठकमा निर्णायर्थ प्रस्तुत गर्दा प्रतिनिधि सभाको बैठकले बहुमतबाट अनुमोदन गरेकाले सभामुख घिमिरेले नेपाली कांग्रेसकी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाको बैठकमा निर्णायर्थ प्रस्तुत गर्नु भएन ।





