नेकपा (एमाले)का नेता तथा मुख्यमन्त्री लीला गिरी नेतृत्वको लुम्बिनी प्रदेशको मन्त्रीपरिषदले शनिबार पूर्णता पाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीको सिफारिसमा सोही प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा ९ अनुसार शनिबार लुम्बिनी प्रदेशको मन्त्रीपरिषद बिस्तार गरेसँगै उक्त मन्त्रीपरिषदले पूर्णता पाएको जनाइएको छ । शुक्रबार सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले), नेकपा (माके) र राप्रपा बीच मन्त्रालय बाडफाडको विषयमा सहमती जुटेपछि शनिबार लुम्बिनी प्रदेशको मन्त्रीपरिषदले पूर्णता पाएको बताइएको छ । १० सदस्यीय यो मन्त्रीपरिषदमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएकी कृष्णा के.सी. एक जना मात्रै महिला हुनुहुन्छ । यस अघि विना विभागीय मन्त्री रहेकी के.सी.ले मन्त्री पदबाट राजीनामा दिएको समाचार बाहिर आएको थियो तर शनिबार के.सी.लाई आन्तरिक मामिला तथा कानून मन्त्री बनाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।






