चितवन क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्यको उप- निर्वाचन आउदो बैशाख १० गते

गत माघ १३ गते सर्वोच्च अदालतले चितवन क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सदस्य रवि लामिछाने नेपाली नागरिक नरहेकोले उनी उप-प्रधानमन्त्री तथा गृह मन्त्री , सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य समेत रहन नसक्ने फैसला गरेसँगै रिक्त हुन पुगेको चितवन क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य पदको उप-निर्वाचन आगामी बैशाख १० गर्ने हुने भएको छ । सो निर्वाचन क्षेत्रमा उप-निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । जस अनुसार आजदेखि आगामी चैत्र १६ गतेसम्म मतदाता नामावली अध्यावधि गर्ने , चैत्र २० देखि २२ गतेसम्म उम्मेद्वारको मनोनयन दर्ता, उम्मेद्वारको नामावली प्रकाशन , उम्मेद्वार विरुद्ध दावी विरोध तथा दावी विरोध उपर जाचबुझ गर्ने र चैत्र २३ गते उम्मेद्वारी फिर्ता ,अन्तिम नामावली प्रकाशन र उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

गत मंसिर ४ गते सम्पन्न चितवन क्षेत्र नं.२ को प्रतिनिधि सभाको निर्वाचनमा ८३,९५६ मत खसेको थियो भने सो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका सभापति रवि लामिछाने ४९,२६४ मत प्राप्त गरी निर्वाचित भएका थिए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४,९८३ र नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४,६६७ मत पाएका थिए ।

यो चुनावमा रास्वपाका सभापति रवि लामिछाने उम्मेद्वार पाउने हुन् होइनन् , त्यो त निश्चित भइसकेको छैन । सर्वोच्च अदालतको फैसलापछि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाण-पत्र लिएका रास्वपाका सभापति लामिछानेले मतदाता नामावलीमा नाम समावेशका लागि आवेदन दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *